बर्खास्त भए महन्थ ठाकुर र राजेन्द्र महतो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बर्खास्त भए महन्थ ठाकुर र राजेन्द्र महतो



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट बर्खास्त गरेको छ । पार्टीले बर्खास्त गरेपछि अब उनीहरूको साधारण सदस्य मात्रै बाँकी रहेको छ।

जसपाले अद्यावधिकका लागि निर्वाचन आयोगमा ३५ जना केन्द्रीय सदस्यको नाम मात्रै पठाएको थियो। त्यही अनुसार, आयोगले अद्यावधिक गरेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले बताए।

जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय थियो। निर्वाचन आयोगले आधिकारिकताका लागि सनाखत गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।

त्यसपछि आधिकारिकता पाएसँगै यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले ठाकुर र महतो सहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउने निर्णय गरेको थियो। त्यस्तै, तटस्थ बसेका चौधरीलाई भने केन्द्रीय कार्यकारिणी समितिमा यथावत् राखेको थियो।

जसपाले सोही अनुसार अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो। यादवको पक्षमा उभिएका ३४ र तटस्थ बसेका चौधरी सहित जसपा केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय बनेको छ। त्यसमा यसअघि अध्यक्ष रहेका ठाकुर र महतो लगायत १६ जना नेता अटाएका छैनन्।