महन्थ ठाकुरको डिजाइनमा निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

महन्थ ठाकुरको डिजाइनमा निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता



काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा उनी पक्षका नेताहरुले निर्वाचन आयोगमा एकैपटक दुई दल दर्ता गराएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका नेताले राजपा दर्ताका लागि निवेदन दिएको अर्को दिन नै ठाकुरले आफ्ना नेताहरूलाई दुई नयाँ दल दर्ताको लागि निवेदन दिन लगाएका हुन्।

स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।

यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

पार्टीको आधिकारिताबारे विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थालेका हुन् । संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव नेतृत्वको पुरानो पार्टी हो । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नयाँ पार्टी हो ।

मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी बीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । पछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । सोही समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको हो ।

यी दुवै पार्टी दर्ता गराएर राख्ने तयारी महन्थ ठाकुरको रहेको छ । हाल जसपाको विवाद निर्वाचन आयोगमा पुगेको छ । दुवै पक्षले पार्टी फुटाउन सहमति दिएसँगै विवाद समाधान गर्नको लागि आयोगले इजलास समेत गठन गरेको छ ।