थाहा नगरपालिका बन्यो उत्कृष्ट स्थानीय तह - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

थाहा नगरपालिका बन्यो उत्कृष्ट स्थानीय तह



काठमाडौं- मकवानपुरको थाहा नगरपालिका एक पछि अर्को गर्दै उत्कृष्ट बन्दै गैरहेको छ । पछिल्लो समय जिल्लामै उत्कृष्ट भएको भन्दै जिल्ला समन्वय समितिले सम्मान पनि गरेको छ ।

हेटौंडामा भएको पाँचौं जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका दश स्थानीय तहहरु मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । श्रावन २५मा जिल्ला सभा भएको थियो ।

थाहा नगरपालिका उत्कृष्ट भएसंगै बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा उत्कृष्ट कार्य सम्पादन गरेको मुल्याङ्कनसहित पौडेलले नगर प्रमुख लवशेर विष्टलाई सम्मानपत्र प्रदान गरेका हुन् । थाहा नगरपालिका अघिल्लो आर्थिक वर्ष पनि जिल्लामै उत्कृष्ट भएको थियो ।

बेरुजु फछ्र्यौटमा देशमै सर्वोत्कृष्ट स्थान हासिल गरेको थाहा नगरपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले उत्कृष्ट घोषणा गरेको हो । जिल्ला समन्वय समितिले निर्माण गरेको मापदण्ड, अनुगमन मुल्याङ्कनलगायतको माध्यमबाट गरिएको स्थानीय तहको मूल्यङ्कनको आधारमा पुरस्कृत गरिएको जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

त्यस्तै दश स्थानीय तहमध्ये इन्द्रसरोरवर गाउँपालिका, दोस्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।