थाहा नगरपालिकाको ह्याट्रिक, लगातार तीन वर्ष बन्यो उत्कृष्ट - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

थाहा नगरपालिकाको ह्याट्रिक, लगातार तीन वर्ष बन्यो उत्कृष्ट



मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो ।

जिल्ल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा उत्कृष्ट हुने नगरपालिका बनेको हो ।

जिल्ला समन्वय समितिको मुल्यांकनको आधारमा हुने उक्त घोषणा छैठौँ जिल्ला सभाको कार्यक्रममा हेटौंदामा घोषणा गरिएको हो । उत्कृष्ट बनेको थाहा नगरलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

कार्य पगति तथा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ को अंकभारलाई समेत आदार मानी जिल्ला समन्वय समिति मकवानपुरले पुरस्कृत गरेको हो । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालका अनुसार थाहा नगरले ७५.५ अंक प्राप्त गरेको छ ।

थाहा नगरले ह्याट्रिक गरेपछि नगर प्रमुख विष्टले जनप्रतिनिधि तथा कर्मचारीहरूमा आभार ब्यक्त गरेका छन् । पालिकाको सफलता नै सबै नगरबासीको सफलता भएको बताउँदै विष्टले आगामे दिनमा थप उचाई प्राप्त गर्नका लागि पनि सहयोगको आवस्यकता रहेको बताएका थिए ।