ठेकदारमाथि थाहा नगरद्वारा कारबाही सुरू: कालोसूचीमा राख्न ७ दिने अल्टिमेटम
काठमाडौं- मकवानपुरको थाहा नगरपालिकाले काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्ने भएको छ । ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकदारलाई कारबाही गर्नको लागि गोरखापत्रमा सुचाना निकालेरै प्रक्रिया अघि बढाईएको हो ।
नगरपालिकाले दुई निर्माण कम्पनीले पाँच वटा योजना समयमै सम्पन्न नगरेपछि ८ असोजमा सूचना प्रकाशित गरी कारबाही थालेको हो ।
आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा विभिन्न योजनाहरुको ठेक्का पाई हालसम्म पनि योजना सम्पन्न नगरेका ठेकदारहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ ।
पटक-पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि नगरपालिकाले ८ असोजमा प्रकाशित गोरखापत्रमा सूचना प्रकाशित गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भई २०७५ असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने थाहा नगरपालिका वडा नम्बर ७ र ८ को वडा कार्यालय भवन निर्माण हालसम्म पनि सम्पन्न नगरेपछि टीएफटी कन्सट्रक्शन सिन्धुपाल्चोकका ठेकदार शम्भु बानियाँलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नगरपालिकाले सूचित गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भई २०७६ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन बसपार्क र थाहा स्मारक पार्क तथा वडा नम्बर २ मा संचालित पालुङ बँदेली सडक निर्माण कार्य हालसम्म पनि सम्पन्न नगरेकोले प्रोग्रेसिभ कन्सट्रक्सन कालिमाटीका आशिष कार्कीलाई पनि ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्ने व्यहोराको सूचना बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरीएको छ ।
पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुँदा ७ दिनभित्र कार्यालयमा उपस्थित हुन र उपस्थित नभएमा आवश्यक प्रक्रिया अघि बढाइने भनी गोरखापत्र दैनिकमा सूचना प्रकाशन भएको बताइएको छ ।
समयमा काम सम्पन्न नगरेको भनी ठेकदारहरुलाई थाहा नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको यो पहिलो घटना हो ।
७ दिने सूचना बमोजिम ठेकदारहरु सम्पर्क राख्न नआएमा सार्वजनिक खरिद नियमावली बमोजिम ठेक्क सम्झौता तोड्ने र कालोसूचीमा राख्नेसम्मको कारबाही हुने थाहा नगरपालिले जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मै ठेक्का सम्झौता भई हालसम्म काम सम्पन्न नभएको वडा नम्बर ५ को सरस्वती बजार-बुढिचौर सडक र चित्लाङ-ताकातार-खर्क सडक भने ठेकदार सम्पर्कमा आई काम संचालनमा रहेकोले २०७७ असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य अघि बढाएकोले उक्त योजनाका ठेकदारलाई भने कारबाही प्रक्रियाअघि नबढाएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखाले जनाएको छ ।
यद्यपि काम ढिला गरेवापत निर्माण व्यवशायीलाई हर्जना भने लाग्ने नगरपालिका आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ ।
![](https://himalpost.com/wp-content/uploads/2020/09/thaha-768x665.jpg)