सिभिलमा दुई करोडको पिसिआर उपकरण अलपत्र पारेर टेकुमा सर्वसाधारणको बेहाल - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सिभिलमा दुई करोडको पिसिआर उपकरण अलपत्र पारेर टेकुमा सर्वसाधारणको बेहाल



काठमाडौं- पिसिआर जाँच गराउन नागरिक भोकै–प्यासै झरीमा रुझेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा जनता लाइन लागेका छन्।

दुई दिन पर्खिँदा पनि पिसिआर जाँचका लागि पालो पाइरहेका छैनन्। तर, यही वेला यता नेपाल सरकारका मुख्यसचिव नै सञ्चालक समिति अध्यक्ष रहेको निजामती कर्मचारी अस्पतालले दुई करोड रुपैयाँ खर्च गरेर ल्याएको पिसिआर मेसिन थन्क्याएर राखेको छ। अन्य सामग्री महिनौँदेखि थन्किएका छन्।

‘थर्मोफिसर साइन्टिफिक’ नामक कम्पनीको पिसिआर मेसिन दुई महिनादेखि अस्पतालको ल्याबमा छ। तर, टेबलमुनि अलपत्र अवस्थामा। यो महामारीको वेला दुई करोड बजेट खर्च गरेर ल्याएको मेसिनको कार्टुनसमेत नखोली राखिएको छ। अरू सामान पनि ल्याबमा छरपस्ट पारिएको खबर आजको नयाँ पत्रिकामा सागर चन्दले लेखेका छन।

ल्याब र पिसिआर जाँचका लागि आवश्यक सामग्री खरिद गर्नुअगाडि सिभिल अस्पतालले स्वाब संकलनमा प्रयोग हुने भिटिएम किट १४ जेठमा नै खरिद गरिसकेको थियो।

त्यस्तै २९ असारमा पिसिआर ल्याब र त्यसका लागि आवश्यक सामग्री खरिद गर्न एक करोड २७ लाख ९८ हजारमा अस्पतालले ठेक्का दिएको थियो। यसरी पिसिआर मेसिन र त्यसका लागि आवश्यक सामान खरिदमा करिब दुई करोड रुपैयाँ खर्च गरेको छ । तर, मेसिन खरिद गरेको दुई महिनासम्म पनि अस्पतालले पिसिआर जाँच भने सुरु गरेको छैन।

‘भिटिएम, रिएजेन्टजस्ता सबै संसाधन छन् । सम्पूर्ण तयारी पुगेको छ, करिब दुई करोड खर्च भएको छ, तर किन हो कुन्नि, कोरोना परीक्षण गर्न व्यवस्थापनले इच्छा गरेको छैन,’ अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने।

तर, पछिल्लो समय वीरले सिभिलले पठाएको स्वाब परीक्षण गर्न छाडेको छ। दुई सातायता वीरले सिभिलको नमुना लिएको छैन । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालिएको छ।

यसरी मेसिन भएका अस्पतालले पनि नमुना पठाउँदा टेकुमा अनावश्यक दबाब बढेको छ। ‘सबै नमुना टेकुमा आउँदा पिसिआर जाँच गर्न नपाएर मान्छेहरू रातभर सडकमा लाइन लागेका छन्, सरकारले किन अनुगमन गरेको छैन, थाहा भएन,’ सिभिल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने।