लेडिज सर्कलले बनाइदिए टेकुका अनाथ बालबालिकालाई नयाँ घर - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

लेडिज सर्कलले बनाइदिए टेकुका अनाथ बालबालिकालाई नयाँ घर



काठमाडौं- टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि निर्माणाधीन भौतिक संरचनामध्यको चिकित्सा कक्ष हस्तान्तरण गरिएको छ । विहीबार एक समारोहबीच उक्त चिकित्सा कक्ष हस्तान्तरण गरिएको हो।

७२ सालको महाभूकम्पमा समिति परिसरका संरचना भत्केपछि आश्रित बालबालिकाहरुको विचल्ली भएपछि मारवाडी समुदायका अग्रणी महिलाहरुको संस्था लेडिज सर्कलले नयाँ संरचना निर्माण अभियान थालेका थिए ।

त्यसैअन्तर्गत पहिलो चरणमा निर्मित चिकित्सा कक्ष बिहिबार हस्तान्तरण गरिएको काठमाडौं लेडिज सर्कल- १ की अध्यक्ष प्रभा शारडाले बताइन् ।

हस्तान्तरण समारोहमा काठमाडौं लेडिज सर्कल- १ की अध्यक्ष प्रभा शारडाले बाँकी संरचना समेत छिट्टै बनाउने बताइन् । उनले भनिन्, ‘बाँकी संरचनाका लागि हामी आगामी दिनमा लागि पर्नेछौं ।’

समितिले सन्चालन गर्दै आएको अनाथालयमा १७ बालबालिका आश्रित छन्।

कार्यक्रममा लेडिज सर्कलकी राष्ट्रिय अध्यक्ष रश्मि दासले कोरोना कहरका बीच पनि सामाजिक उत्तरदायित्वका काममा सक्रिय हुन पाएकामा अपार सन्तुष्टि मिलेको बताइन्।

नेपाल प्रहरीकी उपरीक्षक गंगा पन्तले उक्त कक्ष उद्घाटन गरेकी हुन्। पन्तले अर्काको दुःखपीडा कम गर्न लागिपर्ने जो कोही सराहनायोग्य हुने उल्लेख गर्दै महिला सशक्तिकरणमा समाजसेवाले ठूलो अर्थ राख्ने उल्लेख गरिन्।

लेडिज सर्कलको आधिकारिक मिडिया पार्टनर नेपइनसाइट मिडिया प्रा लिका अध्यक्ष सुन्दर खनालले परोपकारको साँचो सँस्कृति समाजमा खट्कदै गएको अवस्थामा बालबालिकाहरुको हितमा काम गरिनु उदाहरणीय भएको बताए।