प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई तिन विकल्प - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई तिन विकल्प



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान हुने कुनै संकेत देखिएको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार समस्या समाधानका लागि वार्तामा बसेपनि समस्या भने झन् बढिरहेको नेकपाकै नेताहरूले स्वीकार गरेका छन् ।

बुधबारको भेटमा दुवै अध्यक्ष आफ्ना अडानमा टसमस भएनन् बरु प्रधानमन्त्री ओलीले आफू झनै अडिग भएको संकेत दिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई लामो प्रवचन दिएर फर्काए । स्रोतका अनुसार प्रचण्डलाई कम्भिन्स गर्न ओलीले विभिन्न दृष्टान्त बताएका थिए । त्यतिमात्र होइन उनले प्रचण्डलाई माधव नेपालको क्याम्प छोडेर आफ्नो क्याम्पमा आएको खण्डमा विशेष रूपले हेर्ने आश्वासन दिएका थिए ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागिरहेका प्रचण्ड र माधव नेपाल समूहलाई ओलीले बारम्बार पद त्याग नगर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले पद छाड्न प्रचण्डसमक्ष तीन विकल्पको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए अर्ली महाधिवेशनमा जाउँ। त्यो हुँदैन भने माधव नेपाल समूह छाड्नुस भन्ने ओलीको प्रस्ताव रहेको स्रोतको दाबी छ ।

बुधबार पनि माधव नेपाल समूहमै रहेर प्रचण्डले राखेका कुनैपनि माग पुरा गर्न नसक्ने संकेत गरे । ओलीले भनेका थिए, ‘बरू त्यता छाडेर आउनुहोस मिल्न सकिन्छ, माग सम्वोधन हुनसक्छन ।’

बुधबार प्रचण्डसँग बालुवाटारमा करिब साढे दुई घण्टा एक्लाएक्लै भएको भेटमा पनि ओलीले त्यही पुरानै कुरा दोहोर्याएको स्रोतले जनाएको छ ।

‘अहिले प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा कुरै नगर्नुस, माधव नेपालको बुई चढेर ल्याएका प्रस्तावमा म छलफल गर्न तयार छैन’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षका लागि चुनाव र महाधिवेशन कुर्नुपर्ने, त्यो हुँदैन भने माधव नेपाल समूह छाडेमा पनि केहि सोच्न सकिने बताएका थिए । ‘तपाईं प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए अर्ली महाधिवेशनमा जाउँ। त्यो हुँदैन भने माधव नेपाल समूह छाड्नुस केहि सोंचौला’ ओलीले भने ।

स्रोतका अनुसार प्रचण्डले आफू नेता पक्ष र विपक्षमा नभएको, पार्टी र सरकार विधिसम्मत हिसावले चल्नुपर्ने, एकता गर्दाका सहमति पालना हुनुपर्ने पक्षमा रहेको बताएका थिए । ‘पार्टी र सरकारमा तपाईँको मनोमानी धेरै भएकाले साथीहरू आक्रोशित बनेका हुन् । यो कुनै पक्ष र विपक्षको लडाई होइन, पार्टी र सरकारलाई बिधि र प्रक्रियाले चलाउँ भन्ने सबैको माग हो ।’ प्रचण्डले भनेका थिए ।

बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए।

सहमति खोज्ने नाममा नेकपा स्थायी समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ। सुरुमा स्थायी समिति बैठक माग गर्ने २० जना सदस्यहरूले शुक्रबारको बैठक नरोक्न माग गरेका छन् भने प्रमुख नेताहरू पनि अब बैठक रोक्न नहुने निष्कर्षमा पुगेका छन्।

बुधबार खुमलटार फर्केपछि प्रचण्डले आफु निकटका अन्य केही नेताहरूलाई पनि ओलीसँगको भेटमा केही परिणाम ननिस्केको तर भोली फेरि भेट हुने बताएका थिए।