देउवा, प्रचण्ड र नेपाल छलफलमा, मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भइरहेको छ ।
सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको संख्याबारे मोटामोटी सहमित भए पनि कुन मन्त्रालय भन्ने विषयमा भागबण्डा नमिलेकाले आइतबारको यो बैठकले मन्त्रालयसमेत टुंगो लगाउने जनाइएको छ ।
मन्त्रालयले टुंगो लागेपछि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ । गठबन्धनबीच काँग्रेसबाट ७ , माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट ६–६ मन्त्री बनाउने टुंगो भएको छ ।
गत जेठ २९ मा प्रधानमन्त्री बनेका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता सहयात्री माधवकुमार नेपालको समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।
अब माधवकुमार नेपालले एमालेले विभाजन गरेर एकीकृत समाजवादीको प्रमाण पत्रसमेत पाइसकेकाले मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा सक्रिए भएका हुन् ।