तीन जना मन्त्रीलाई हटाईने, नयाँ को आउलान ? - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

तीन जना मन्त्रीलाई हटाईने, नयाँ को आउलान ?



काठमाडौं । अर्बौंको ठेक्का लिएर ओगट्ने र समयमा निर्माण नसक्ने पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्नुको साटो संरक्षण दिएको रिपोर्ट परेपछि यातायात मन्त्री रघुबीर महासेठलाई विदा गर्ने तयारी भएको बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मंगलबार दुइजना मात्र बसेर केही मन्त्रीलाई विदा दिने कुरामा सहमति गरेको बुझिएको छ। सत्तारुढ दलका शीर्ष नेताले पाएको जिम्मेवारी सन्तोषजनक रुपमा निर्वाह नगर्ने मन्त्री कसैका पनि नहुने उनीहरुलाई पदमुक्त गरेर नयाँ अनुहारलाई मौका दिन विलम्व नगर्ने सहमति गरेको उच्च समाचार सूत्रले बतायो।

बादल र पण्डित पनि 

गृहमन्त्री रामबहादुर थापा बादल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि पाएको जिम्मेवारी पूरा गर्नुमा भन्दा प्रचारबाजीमा लोभिएको निष्कर्षमा नेताहरु पुगेका छन्। गृहको साँचो हातमा पर्ने बित्तिकै चर्का भाषण गरेर चर्चामा आएका बादलले हातहालेका कुनैपनि क्षेत्रमा सफलता नपाएको उनीहरुको निष्कर्ष रहेको बुझिएको छ। चर्चित सुनकाण्ड देखि देशै हल्लाउने गरी भएका अपहरण, बलत्कार र हत्याका घटनामा गृहमन्त्रीको कुनै प्रभावकारी भूमिका नदेखिएको भनेर नेकपाको पार्टी च्यानलबाट रिपोर्ट परेपछि नेताहरुले त्यसलाई गम्भीर रुपमा लिएको थाहा भएको छ। गृहमन्त्री बादलले बिम्स्टेक सम्मेलनमा पनि सुरक्षाको उचित प्रवन्ध गर्न र सुरक्षा निकायलाई समन्वय गर्न नसकेको सुरक्षा सूत्रले पनि बताएको छ।

यता,बिगतमा कमाएको साखले राम्रा काम गर्दै जाने आशा गरिएका मन्त्री लालबाबु पण्डित पनि खरो उत्रिन नसकेको नेताहरुको निष्कर्ष रहेको बुझिएको छ। पण्डितले पनि कर्मचारी सरुवा र व्यवस्थापनको काममा कुनै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई विदा गरेर नयाँ पुस्ताका नेतालाई मौका दिने सहमति भएको थाहा भएको छ।

यसरी मन्त्रीहरुको मूल्यांकन गरेका नेताहरुले चाँडै मन्त्रिमण्डल पुनर्गठन गरी सरकारको उपस्थिति प्रभावकारी बनाउन अन्य आवश्यक कदम चाल्दै जाने निचोड निकालेका छन्। त्यसपछि पार्टीका विभिन्न संगठनहरुको स्थानीयदेखि केन्द्रसम्म एकिकरणमा पनि काम गर्न सजिलो हुने उनीहरुको धारणा रहेको बुझिएको छ।

मन्त्रीहरुको कमजोर कार्यशैलीले गर्दा सिंगो सरकारले नै त्यसको मार खानुपरेको पार्टीका अन्य नेताहरुले पनि शीर्ष नेताहरुलाई सुझाव दिएका छन्।

सबैतिरबाट आएको रिपोर्ट र प्रमुख प्रतिपक्षको आलोचनालाई ध्यानमा राख्दै शीर्ष नेताहरु चाँडोभन्दा चाँडो मन्त्रीमण्डल पुनर्गठन गर्ने मनस्थितिमा पुगेको समाचार सूत्रले बताएको छ। ‘अध्यक्ष दाहाल भारत भ्रमण सकेर फर्केपछि मन्त्री मण्डल पुनर्गठन हुनेमा कुनै शंका छैन’ समाचार सूत्रले भन्यो।

सरलपत्रिका