एकैदिन देउवाले बोलाए तीन बैठक, बोल्ड निर्णयको तयारी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एकैदिन देउवाले बोलाए तीन बैठक, बोल्ड निर्णयको तयारी



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहिबार एकैदिन दुई वटा आकस्मिक बैठक बोलाएका छन् भने संसद बैठक पनि आजकै लागि बोलाइएको छ । केही घण्टाको फरकमा तीन वटा महत्वपूर्ण बैठक आकस्मिक रूपमा बोलाएका देउवाले केहि महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ ।

प्रधानमन्त्री देउवाले बिहिबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिइएको बैठकमा एमालेले उपस्थित नहुने बताइसकेको छ । यसअघि सभामुखले बोलाएको बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

सर्वदलीय बैठकमा मुख्य गरेर संसद बैठकमा एमालेले गर्दै आएको अवरोध हटाउने र बैठकलाई सुचारु गर्ने विषयमाथि छलफल हुने बताइएको छ । यसबीचमा एमालेको बिरोधका बाबजुद पनि सरकारले आर्थिक विनियोजन विधेयक पारित गरिसकेको छ । अरु सबै विधेयक र कार्यसूचीका विषय अलपत्र हुँदै आएका छन् ।

बिहिबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको पत्र पढेर सुनाउने र प्रधानमन्त्री देउवाले महालेखा परिक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

देउवाले बिहिबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । एमालेले प्रतिनिधिसभाको बैठक अन्त्य गरेर सरकारले आफू अनुकूलको निर्णय गर्ने आशंका गर्दै आएको सन्दर्भमा आजका तीन वटा बैठकलाई अर्थपूर्ण ठानिएको छ ।

सर्वदलीय बैठक र संसद बैठकमा एमालेको रवैयालाई हेरेर दिउँसोको क्याबिनेटले केही राजनीतिक निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।