एक सफल, प्रेरणादायी शिक्षक : जसले शिक्षण संगै माछापालन व्यवसाय गर्दै
गोविन्द बीसी /बैनिया
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का प्रमोद साउँद पेसाले शिक्षक हुन् । उनी सोही गाउँपालिकाको वडा नम्बर-४ स्थित कालिका मावि नौनियाँमा शिक्षण गर्छन् । २०६५ सालदेखि शिक्षण सेवा सुरु गरेका साउँद शिक्षक पेसा संगसंगै पछिल्लो समय व्यवसायिक रूपमा माछापालन अंगाल्न थालेका छन् । ‘हाम्रो कृषि फर्म’ नामक फर्म दर्ता गरेर उनले यो ब्यवसाय सुरु गरेका हुन् ।
सजिलो र माछाको बजार माग राम्रो हुने भएपछि उनको यो व्यवसायतर्फ आकर्षण बढेको हो ।
एकवर्ष अघिदेखि ८ बिगाह क्षेत्रफलमा फैलिएको पोखरीमा साउँदले माछापालन सुरु गरेका हुन् । कुल १२ लाख लगानीमा माछापालन सुरु गरिएको उनले बताए । पुरैना सामुदायिक बन उपभोक्ता समितिबाट पाँचवर्षका लागि पोखरी ठेक्कामा लिएर माछापालन गरिएको हो । माछा पोखरीमा अहिले कमन कार्प, सिल्भर कार्प, बिगहेडकार्प, रहु, पंगास, नैनी जातका माछापालन गरिएको छ ।
शिक्षणसंगै व्यवसायिक कृषि पेसालाई अगाडी लैजान माछापालन सुरु गरेको साउँद बताउछन् । उनले भने, “खाली समय बस्नुभन्दा केही व्यवसायिक कामको थालनी गरेर आम्दानी बढानुपर्छ भन्ने लागेपछि माछापालन सुरु गरिएको हो । मेहनत गरे सोचाइ अनुसारको सफलता प्राप्त गर्न सकिन्छ ।” आफूमा पहिलेदेखि नै माछापालन गर्ने सोच भएकाले यो व्यवसाय गरेको हुँ उनले भने । अहिले स्थानीय बौनिया, मुडा र सुखड बजारसम्म माछाको राम्रो बजार माग र खपत भैरहेको छ । पोखरीमा मत्स्य बिकास केन्द्र सुखडबाट १ लाख २० हजार माछाका भुरा हालिएको उनले जानकारी दिए ।
कुनैपनि संघसंस्थाबाट अनुदान नलिएरै आफ्नै लगानीमा माछापालन गरेका साउँदले वार्षिक रु ४० लाख जति आम्दानी गर्ने लक्ष्य लिएको बताए ।कृषिउद्यम गर्ने यूवाका लागि स्थानीय तहले व्यावसायिक स्वरोजगारका कार्यक्रम ल्याउन नसकेको साउँद जस्तै यहाँका धेरै यूवाको गुनासो छ । उनले कृषि व्यवसाय गर्ने मनसाय भएका धेरै यूवाले आर्थिक लगानीको अभावका व्यवसाय अंगाल्न नसकेकाले सहुलियतपूर्ण अनुदान र तालिमका कार्यक्रम ल्याउन आवश्यक रहेकोे बताए । स्थानीय स्तरमा सबैले यूवालाई राजनीति भन्दा कृषिपेसामा आकर्षण बढाउने खालका योजना तथा कार्यक्रम मार्फत प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।
राम्रो प्रतिफल प्राप्त हुने भएपछि गाउँपालिकाको अन्य वडाका यूवाले समेत अहिले माछापालन गर्दै आएका छन् । माछापालनका लागि कैलाली उपयुक्त हावापानी भएको जिल्ला समेत मानिन्छ ।
बर्दगोरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा कृषि उत्पादन बढाउन सिचाँइ सुविधाको प्रबन्ध गर्ने, कृषि कर्जा सरल बनाइ सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था मिलाउन पहल गर्ने, कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायमूखी बनाउदै तरकारी, दुध, माछामासु र अन्डा उत्पादनमा आत्मानिर्भर बनाउने लक्ष्य लिएको छ । तरपनि, गाउँसभाबाट पारित भएका नीति तथा कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न नसकेको उनले बताए ।