ओली-प्रचण्डबीच डेढ घण्टा छलफल: मन्त्रिपरिषद् पुनर्गठनको तयारी पुरा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

ओली-प्रचण्डबीच डेढ घण्टा छलफल: मन्त्रिपरिषद् पुनर्गठनको तयारी पुरा



काठमाडौं- आइतबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन र सरकारका कामलाई प्रभावकारी बनाउनका लागि स्थायी कमिटि बैठकले सुझाए अनुसार ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषद्को पुनर्गठन तत्काल हुने सम्भावना देखिएको छ । प्रधानमन्त्री ओलीले पुनर्गठनको सबै खाका तयार पारेको बालुवाटार स्रोतले दाबी गरेको छ । सम्भवतः आजै बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केहि निर्णय सुनाउन सक्ने आंकलन गरिएको छ ।

बालुवाटारमा बिहानै ९ बजेदेखि ओली-प्रचण्ड अन्तिम निष्कर्षका लागि छलफल गरेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने उनी निकटस्थहरू बताउँछन् ।

भदौ २६ गते सकिएको स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे पार्टीभित्र सैद्धान्तिक छलफल भएको थियो । त्यसैको वरिपरि रहेका प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् ।

आजै प्रधानमन्त्री ओलीले १२ बजे मन्‍त्रिपरिषद् बैठक बोलाएका छन् ।