हवाईजहाज भन्दा काठमाडौंमा ट्याक्सी भाडा महंगो ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

हवाईजहाज भन्दा काठमाडौंमा ट्याक्सी भाडा महंगो !



प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए। उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ।’

उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए।

उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ। अर्थात् एक किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

०७२ माघ २४ मा सरकारले निर्धारित शुल्कअनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ। नातपौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ।

विभागले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीमा चढनेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ। प्रतिदुई सय मिटरमा ७ रुपैयाँ उठनुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीले झन मनपरी भाडा लिने गरेका छन्। न्यूनतम भाडा नै ५ सयदेखि ७ सय निर्धारण गरेको छ। विभागले काठमाडौं उपत्यकाभित्र सहरी क्षेत्रका लागि ५ किलोमिटरसम्म ४ सय ८१ रुपैयाँ भाडा तोकेको छ।

५ किलोमिटरभन्दा बढीमा प्रतिकिलोमिटर ६८ रुपैयाँसम्म मात्रै लिन पाइन्छ। उपत्यकामा बढीमा १ हजार ५२ रुपैयाँ मात्रै लिन पाउने गरी यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको छ। तर, विमानस्थलका ट्याक्सी व्यवसायीले मनोमानी भाडा लिने गरेका छन्।

सांसद शाहले एयरपोर्टको हरियो नम्बर प्लेटको ट्याक्सीले एयरपोर्टबाट गुहयेश्वरी (तीन किलोमिटर) जाँदा ७ सय रुपैयाँ लिने गरेको बताए।

एयरपोर्टको अधिकांश हरियो नम्बर प्लेटको गाडी भन्सार छुटको हो। ‘सरकारले भन्सार छुट दिएको टयाक्सीले गुहयेश्वरीसम्म जान ७ सय रुपैयाँ लिन्छ,’ उनले भने।

उनले तिरेको भाडाअनुुसार प्रतिकिलोमिटर दुई सय ३३ रुपैयाँ पर्छ। निजी ट्याक्सीले पनि कम्तीमा तीन सय रुपैयाँ लिने गरेको उनले बताए। टयाक्सीले लिने भाडाले सर्वसाधारण ठगिएको भन्दै उनले नियन्त्रण गर्न माग गरे।