तात्यो कांग्रेस: आजै पदाधिकारी बैठक र जसपासँग वार्ता
काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि सत्ता र राजनीति चलायमान बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिरहेको जनता समाजवादी पार्टीले शुक्रबार नै नेपाली कांग्रेससँग वार्ता गर्ने भएको छ ।
पछिल्लो राजनीति र सम्भावित सत्ता समीकरणबारे आज नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच वार्ता तय भएको छ ।
जसपाले सत्ता समीकरणका लागि आफ्ना मागसहित वार्ता र छलफल तिब्र पारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे दुवै दलका शीर्ष नेताबीच वार्ता हुने बताइएको छ ।
संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई, कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता लगायतका मुद्दामा जसपाले छलफल गरिरहेको छ ।
जसपाका नेताहरुसँग वार्ता गर्नुअघि कांग्रेस छलफलमा जुट्दैछ । सभापति देउवाले कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक ३ बजे बूढानीलकण्ठमै बोलाएका छन् ।