तारबाट विद्युत आउँछ, अमेरिकी सेना आउँदैन : मन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२ औँ अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै उनले एमसीसी पास हुँदैमा विदेशी सेना नेपालमा नआउने बताए ।
‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पारित गरेका हौँ, एमसीसी पास भएकाले कुनै विदेशी सेना नेपालमा आउन्न,’ मन्त्री खाँणले भने । एमसीसीले विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो ।
‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन,’ मन्त्री खाँणले भने, ‘राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो ।’ उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनियता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाई थियो ।
एमसीसी ऋण नभइ अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए । ‘एमसीसी ऋण होइन, अनुदान हो,’ मन्त्री खाँणले भने, ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’
एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने उनको भनाइ थियो । ‘एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तर्राष्ट्रिय टेण्डर आह्वान हुन्छ, प्रक्रिया पुर्याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन्, बाहिर आएजस्तो हल्ला होइन ।’
यो सहयोगबाट परिचालित आयोजनाको लेखा परीक्षण गर्ने अधिकार महालेखा परीक्षकको कार्यालयलाई हुने उनले बताए । फरक प्रसंगमा उनले राष्ट्र सेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताए ।