तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माणः मन्त्री बीना मगर - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माणः मन्त्री बीना मगर



कावासोती (रासस) । खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानीको पहुँच सुनिश्चितता गर्ने गरी विशेष योजना अगाडि बढाइएको बताएकी छन् ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१औं साधारणसभा तथा ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा तराईमा शुद्ध खानेपानी वितरणका लागि महाकाली, कर्णाली, बवई, नारायणी, मेचीलगायतका नदीमा सम्भाव्यता अध्ययनसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिइन् ।

उनले नवलपरासी, चितवनसहित छ जिल्लामा नारायणीको पानी शुद्धीकरण गरेर जनतामाझ पुर्याइने गरी दीर्घकालीन योजना अगाडि सारेको जानकारी गराइन् । जनताले आर्षनिक युक्त पानी खान नपरोस् भनेर नारायणी ‘बल्क वाटर’ परियोजना सञ्चालन गर्न लागेको मन्त्री मगरले बताइन् ।

नेपाल सरकारको रु एक करोड ४० लाख र संस्थाको रु ५२ लाख गरी कुल रु एक करोड ९२ लाखको लागतमा खानेपानी ट्यांकी र डिप बोरिङ निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिए ।

चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याक्की निर्माण भएसँगै देवचुली नगरपालिकाभित्रका १० देखि १५ नं गरी पाँच वडाका जनता लाभान्वित हुनेछन् ।