तराई–मधेसबाट कांग्रेस, एमाले र माओवादी केन्द्रको पत्तासाफ हुन्छ:उपेन्द्र यादव - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तराई–मधेसबाट कांग्रेस, एमाले र माओवादी केन्द्रको पत्तासाफ हुन्छ:उपेन्द्र यादव



जेष्ठ ८/काठमाडौं

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धि संस्थागत गर्न आफूहरूले निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्दै मधेस केन्द्रित अन्य दलहरूलाई पनि मिलेर चुनावमा जान आग्रह गरेका छन् ।

मधेसवादी दलहरूले साझा उम्मेदवारी दिनेबारे जिल्ला तहमा पनि चर्चा र छलफल भइरहेको छ । कतिपय जिल्लाका नेता–कार्यकर्ताले नेतृत्व तहमा यसो गर्न दबाब दिएको एक नेताले बताए । साझा उम्मेदवारीबारे राजपा र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलगायत दलका नेतासित कुरा भइरहेको अध्यक्ष यादवले बताए । ‘विभिन्न चरणमा कुरा भइरहेको छ,’ उनले भने, ‘परिस्थिति अनुकूलतातिर गइरहेको छ । मधेस केन्द्रित सबै दलको साझा उम्मेदवार हुनेछ । अब हुने निर्वाचनमा तराई–मधेसबाट कांग्रेस, एमाले र माओवादी केन्द्रको पत्तासाफ हुन्छ ।’ स्रोतका अनुसार जनकपुरमै विभिन्न मधेसवादी दलका स्थानीय र केही केन्द्रीय नेता सहभागी बैठक पनि साझा उम्मेदवारी दिनेबारे नै केन्द्रित थियो ।

यादवले निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने बताए । जनसंख्याका आधारमा तराई–मधेसमा स्थानीय तह थप्न र संविधान संशोधन गर्न सरकारले कुनै कसर राख्न नहुने उल्लेख गर्दै भने, ‘वातावरण नबनाई चुनावमा गए मुलुकमा दीर्घकालीन असर पर्छ ।’ यसबारे आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहालसित कुरा भएको उनले बताए । ‘प्रधानमन्त्रीले हुन्छ भन्नुभएको छ,’ यादवले भने, ‘बोलेरभन्दा पनि कामै गरेर देखाउनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

साझा उम्मेदवारी सम्भव नभए पनि राजपा चुनावमा आउने विश्वास उनले व्यक्त गरे । राजपाका हकमा पार्टी दर्ता र चुनाव चिह्नको प्राविधिक कुरा रहेको भन्दै यादवले यो कुनै ठूलो समस्या नभएको बताए । राजपामा समावेश ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गरेर तिनैमध्ये कुनै एउटाको नाममा चुनावमा सहभागी भए हुने उनको सुझाव छ । ‘त्यसो हुन नसके सरकारले दल दर्ता गर्ने र नयाँ चुनाव चिह्न दिनेतर्फ पनि अवस्था सहज बनाइदिनुपर्छ,’ यादवले भने, ‘जसरी हुन्छ चुनावमा सबैको सहभागिता हुने मार्गप्रशस्त गर्नुपर्छ ।’ बृहत् सहभागिता भए मुलुकलाई फाइदा हुने भएकाले मुख्य दलका नेता यसमा गम्भीर हुनैपर्ने यादवको भनाइ छ ।

संविधान संशोधनको कुरा यसअघि नै टुंगो लागिसक्ने अन्तिम अवस्थामा पुगेको भए पनि विभिन्न पक्षले भाँडेको आरोप यादवले लगाए । गत वैशाख १७ गते संशोधनका लगि संसदको दुई तिहाइ पुग्ने अवस्था आइसकेपछि एकाएक १० सांसद ‘बेपत्ता बनाइएको’ उनले बताए । कसले बेपत्ता बनायो भन्ने प्रश्नमा उनले भने, ‘संघीयताविरोधी, गणतन्त्रविरोधी, मुलुकको हित नचाहने अनि मधेसको हित नचिताउने तत्त्वहरूले त्यसो गरेका हुन् ।’

‘जनकपुर टुडे दैनिक’ को वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र यादव सहभागी थिए । संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले संघीय
गणतन्त्र असफल बनाउन प्रतिगमनकारीले षड्यन्त्र गरिरहेको आरोप लगाए ।

आफ्नो दल निर्वाचनमा सहभागी हुने प्रस्ट पार्दै उनले भने, ‘प्राप्त उपलब्धि संस्थागत गर्न, संविधान संशोधनमार्फत बाँकी अधिकार प्राप्ति तथा जनमत प्राप्त गर्ने लोकतान्त्रिक अभ्यास गर्न हामीले निर्वाचनमा जाने निर्णय गरेका हौं ।’ संविधान संशोधन हुनेमा उनी विश्वस्त देखिएका थिए । आजको कान्तिपुर दैनिक मा  खबर छ