हायात होटलमाथि थालियो अनुसन्धान - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

हायात होटलमाथि थालियो अनुसन्धान



काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शंकास्पद लगानी र बैंकिङ कारोवारवारे अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होम लुईटेलको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा चार्टर्ड एकाउन्टेण्ड पियुस आनन्द, अधिवक्ता बसन्त बस्नेत, महेन्द्र थापा सदस्य छन् । मन्त्रालयका उपसचिव टेकनारायण पौडेललाई सदस्यसचिव तोकिएको छ । समितिले एक साताभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

सरकारले २०४९ सालमा नेपालको पर्यटन विकासका लागि भन्दै तारागाँउ विकास समितिको लगानीमा तारागाँउ रिजेन्सी होटल्स लिमिटेड स्थापना गरेको थियो । निजी क्षेत्रबाट राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहको लगानीमा तारागाँउले करिव ३० प्रतिशत लगानी गरेको थियो ।

सर्राफ-श्रेष्ठ समूहले विचमा होटलमा भारी खर्च देखाएर तारागाँउको हिस्सा करिव ९ प्रतिशतमा सीमित गरेका थिए । यसैवारे अध्ययन गर्न समिती गठन भएको हो । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले अहिले बौद्धमा हायात ब्राण्डमा होटल सञ्चालन गरिरहेको छ । ‘बैदेशिक लगानी भित्र्याएको भनिएपछि राष्ट्र बैंकको च्यानलबाट आएको देखिएन । हायात होटलकी वित्त प्रमुख रानी बाङमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ’ मन्त्रालयस्रोतले भन्यो, ‘शंकास्पद लगानीको वारेमा नै ज्यादा प्रश्न उठेकाले समिति बनाएर हेर्न खोजिएको हो ।’

अध्ययन समितिले तारागाँउ विकास समितिमा भएको अनियमितता, हायात होटल सञ्चालनका क्रममा भएको कामकारवाहीको अध्ययन गर्नेछ । त्यसैगरी बौद्धस्थित करिव डेढ सय रोपनी जग्गा कम्पनीको नाममा गएको विषयमा समेत अध्ययन गरी प्रतिवेदन बुझाउने स्रोतले बतायो ।