नेपालकी तारादेवी पुनले बनाईन ३ नयाँ राष्ट्रिय कीर्तिमान
जाकर्ता (इन्डोनेसिया)- १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
जेआइ एक्सपोमा आइतबार भएको प्रतिस्पर्धामा ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा भंग गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजी उचालिन्। यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो। ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन्। पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन्। तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन्।
क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो। तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन्। क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन्। ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन्।
भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ। तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे।
भारोत्तोलनका प्रशिक्षक दिनेश भुजेलले एसियाली खेलकुदमा भारोत्तोलन खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। ‘हाम्रो खेलाडीको स्तरअनुसार राम्रो प्रदर्शन भएको छ। सहभागी भएका चार जानै खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘निरन्तर प्रशिक्षण गर्ने हो भने यी खेलाडीबाट साग गेम्समा पदकको आसा गर्न सकिन्छ।’
कीर्तिमान बनाएपछि तारादेवी पनि खुसी देखिइन्। ‘खेल जीवनको उत्तरार्धमा छु। तर पनि मैलै राम्रो प्रदर्शन गरिरहदा खुसी छु,’ उनले खुसी प्रकट गरिन्,’ अब मेरो लक्ष्य आउदो साग गेम्समा पदक जित्ने हो।’ यसअघि उनले इन्चोन एसियाडमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। त्यसपछि भारतमा भएको साग गेम्समा उनले कास्य पदक हात पारेकी थिइन्। नेपाल लाईभको सहयोगमा