तपाईँ नाच्ने ‘साधन’ मात्र हो र ? - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

तपाईँ नाच्ने ‘साधन’ मात्र हो र ?



आदरणीय दिदी बहिनी,

सर्वप्रथम त तपाईँहरूको महान् चाड हरितालिका तीजको अवसरमा तपाईँ सम्पूर्णलाई हार्दिक शुभकामना ।तपाइँहरुकै अनुमति लिएर यहाँनेर केही तीता कुरा लेख्दैछु । माइतीको दर सम्झेर मिठो मानी स्विकारिदिनु होला भन्ने अपेक्षा राख्दछु ।

सभ्यताको सुरुवात देखि नै महिला पुरुष बिच अन्योन्याश्रित प्रकृतिक सम्बन्ध रहेको सत्यलाई कसैले नकार्न मिल्दैन । यो सम्बन्धमा को ठुलो भन्ने बहस नै हुन सक्दैन । सृष्टि सञ्चालन र सभ्यताको निरन्तरताको लागि महिला र पुरुष दुवैमा आ-आफ्नै पृथक् र विशिष्ट गुण छन् । तर तपाईँहरूले कत्तिको ख्याल गर्नुभएको छ कुन्नि,सभ्यताको कुनै कालखण्डमा आएर यस्ता दर्शन,पुराण र इतिहास लेखिए जसले सह-अस्तित्व भएका दुई प्राणी मध्ये एकथरिलाई ‘अति विशिष्ट’ र अर्कोथरिलाई ‘काम चलाऊ’को रूपमा स्थापित गरिदिए । पार्वतीले ‘शिव वर पाऊँ’ भनेर व्रत बसेको किंवदंतीबाट प्रारम्भ भई रामायण,महाभारत युग हुँदै आधुनिक युग सम्म आइपुग्दा पनि हरेक पक्षमा महिलालाई कमजोर देखाइएको र पुरुषलाई बलशाली,यशस्वी,देवत्व दाबी गरिएको पाइन्छ ।

प्रकृतित: पुरुष भन्दा महिला शारीरिक रूपमा मात्र कमजोर हुन् । त्यो पनि कसरी कमजोर मान्नु र ? प्रकृतिले दिएका कठोर भन्दा कठोर शारीरिक कष्ट महिलाको भागमा परेका छन् र उनीहरूले ती कष्टलाई सजिलै सहेका छन् । यसर्थमा पुरुष भन्दा शारीरिक रूपमा महिला कमजोर छन् भन्न पनि नमिल्ला । हो, दुःखको साथ भन्नुपर्छ,मानसिक रूपमा चाहिँ महिलालाई कमजोर पारिएको छ विभिन्न कालखण्डमा । प्रकृतिको नियम अनुसार महिला कमजोर होइनन,तर एउटा बाठो वर्गले बड़ो चलाखीपूर्वक “तिमी कमजोर छौ,म बलियो छु,जे गर्छु म गर्छु,तिमी थपक्क बस,सजिऊ,सजाऊ,भित्रै बस,कहिलेकाहीँ मात्र बाहिर निस्क,त्यो पनि मेरो नाम जोडेर विभिन्न पर्वहरुमा,विभिन्न उत्सवहरुमा मात्र ल !” भनेको छ । त्यसको लागि कहिले माया त कहिले डर देखाएको छ । अनि हाम्रा दिदीबहिनी र आमाहरुलाई पनि के परेको छ भने ‘हामी कमजोर नै रहेछौं,यिनीहरू बलिया रहेछन्,भो चुप बसौं,यिनीहरूले भनेको मानौं’। सट्टामा, आफू माथि परेको वर्गले आफ्नो दबाब कायम राख्न अनेकौँ उपाय अपनाइरहेको छ ।

पुरुषहरुले महिलाहरूलाई जमानादेखि गहना किनिदिए,सारी किनिदिए,उपहार किनिदिए,अझ भनौं ‘मक्ख’ पारिरहे । किन त्यसो गरे, उनीहरू नै जान्दछन । केहीले त्यसलाई प्रेमको नाम दिए,केहीले त्यसलाई ज़िम्मेवारीको नाम दिए । जे गरे, तरिका पुर्याएर गरे । महिलाहरूले त्यसलाई प्रेम र सम्मान नै सम्झे । प्रेम र सम्मान दिने कुरा गलत पनि होइन, तर प्रेम र सम्मान भित्र लुकेको वर्षौं देखिको अदृश्य दमन,दलनको पनि बेलाबखत चर्चा गरिनु पर्छ,ताकि दबाबलाई हाँसी हाँसी प्रभाव मानेर स्विकारिरहेको एउटा ठुलो जमातले आफूमा रहेको शक्तिलाई चिनोस्, आफू भित्रका सम्भावनाहरुको ढोका खोलोस् । मलाई अचम्म त के लाग्छ भने नव-आधुनिक सक्षम र शिक्षित युवतीहरुले पनि पुरुषहरुबाट यही सनातन ‘दया’को अपेक्षा राखेको देखिन्छ । ती अपेक्षाहरु यूरोप/अमेरिकाका आस देखि चिल्ला गाडी र ठुलो महलका बासका ‘पार्वतीय तपस्या’ हरुमा प्रतिविम्वित भइरहेक़ा छन् ।

अर्को पाटो पनि छ । बौद्धिक,प्राज्ञिक र कलाका धनी पुरुषहरुले महिलाको लागि शृंगार रसले भरिएका गीत लेखे,रूप र सौन्दर्यको वर्णन गरेर गजल/कविता लेखे,कथाको मुख्य पात्र बनाए,मञ्च र ड़्यासहरुमा प्रमुख विषय बनाए । महिलाहरू झन् बढ़ी ‘मक्ख’ परे । तर कमै पुरुषले रूप र सौन्दर्य भन्दा माथि उठेर गुणी महिलाको गुन बखान गरेर लेखे होलान् सायद । महिलाहरूले पनि बुझेनन वा बुझ्न चाहेनन, उनीहरूको परिधी यी तमाम ‘मक्ख’ हरू सँग सांघुरिंदै गयो भनेर । तिनै पुरुष मध्ये अधिकांशले आज महिलालाई कोठे भन्छन्,कुरौटे भन्छन्,नक्कले भन्छन् । महिला पनि सांघुरिएको भूमिकाभित्रका यी ‘लान्छाना’हरू माँझ आफूलाई भौतिक र आर्थिक रूपमा सुरक्षित देख्छन । ग़ज़ब छ !

अति आधुनिक पश्चिमी समाज देखि नेपाल जस्तो विकासमा पिछडिएको समाजसम्मका महिला केवल प्रयोगको साधनको रूपमा रहेको इतिहास देखिन्छ । उदाहरणको लागि विज्ञापनमा महिलाको प्रयोग हेरौं,कलामा महिलाको प्रयोग हेरौं,यौन आकर्षणका व्यापारिक गतिविधिमा महिलाको प्रयोग हेरौं । यी त टाढाको समाजका कुरा भए । शिक्षाको उज्यालो नपुगेका ठाउँलाई थाँती राखेर हाम्रै शिक्षित समाजका उदाहरण हेरौं-गएको स्थानीय निर्वाचनमा प्रायः गाउँ र नगर प्रमुख पुरुषहरू नै बने,सांत्वनाको लागि लाजकाजले महिलालाई केही ठाउँमा उपप्रमुख सम्म दिइयो । हाल नेपालको उच्च पदमा रहेक़ा भनिएका महिला पनि केही शक्तिशाली पुरुषका नजिकका भएर त्यो ओहोदा ‘निगाह’ भएको स्पष्ट छ । सधैँ ‘दिएको’मा मात्र रमाउने कि आफ्नो क्षमता अनुसारको अधिकार पनि खोज्ने ?

केही बिद्रोही महिलाले मात्र इतिहासमा नाम दर्ज गराएका छन् ,बाँकी धेरै शृंगारमा रमाएका छन् । जो जसले आफूलाई चिने,ती महिला इतिहासमा आफ्नो विशिष्ट स्थानको साथ विराजमान भए,जो शृंगार र मोहमा रमाए उनीहरू हराए,बिलाए, धेरै भएको भए केहीका कथाहरूमा पात्र बनेर सीमित भए होलान् । बस् !

गीत,गजल,कथा,कविता र सरिता तथा गहना,सुविधा,आराम र विलासका साधन प्रयोग गरेर महिलाहरूलाई आफूलाई चिन्ने प्रयासबाट बड़ो चलाखिपूर्वक टाढा राखिएको छ सदियौं देखि । त्यसो त,सौन्दर्यको बखानलाई अन्यथा बुझ्नु पनि हुँदैन,यो प्रकृति प्रदत्त हो,महिला प्रकृतिको सुन्दर सृष्टि हुन । तर कहाँ कसरी आफू प्रयोग भइयो वा प्रयोग गरियो भनेर महिलाले बुझ्नु जरुरी छ । पौराणिक कालदेखि आजसम्मका हरेक युद्ध पुरुषहरू आफ्नो ‘अभिमान’को लागि लडेका छन् तर दोष महिलालाई लगाएका छन् । लड़ाइंको कारण महिलालाई देखाएका छन्-सती,द्रौपती वा सीताको उदाहरण हेर्नोस । म भयंकर फेमिनिस्ट लेखक त हैन तर महिलाले सबथोक सहजै सहेको र जानीनजानी त्यहिंभित्र हराएको/रमाएको देख्दा म अचम्म पर्छु । सायद महिलालाई सदियौं देखि सहनशीलताकी प्रतिमूर्ति भनेर ‘मक्ख’ पारिएको छ,त्यसैले पो हो कि !

नेपाली घर आँगनमा तीज आएको छ,आजको युगमा कुनै पुरुषले पनि आफ़्नी सङ्गिनीलाई आफ्नो लागि ‘व्रत बस’ सायद नभन्ला,तर महिला बस्छिन । कारण, कुनै समय बस्न पर्छ भनेर सिकाइयो । त्यसको लागि अनेक तरिका अपनाइयो होला । श्रीमान्द्वारा श्रीमतीलाई आँखा तरियो होला, आमा द्वारा छोरीलाई डर देखाइयो होला,सक्नेहरु द्वारा शृंगारका साधनले फकाइयो होला र यस्तो अवस्था सृजना गरियो होला कि व्रत बस्नै पर्ने रहेछ । आजका आधुनिक र पढेलेखेका युवतीमा यो सोंचको प्रभाव तिनै कुनै कालखन्डका ‘मक्ख’ र ‘डर’ हरुले पारेका हुन । त्यसैले मैले अचेल खाने गरिएको ‘दर’ लाई त्यही डरको प्रारूप र नाच्ने गरिएको ‘गहनापाते नृत्य’लाई त्यही ‘मक्ख’ को विस्तारित रूपको रूपमा बुझेको छु र समयले त्यस्तो देखाइरहेको पनि छ ।

नत्र तीजको अवसर पारेर महिला सशक्तिकरणका कार्यक्रम किन गरिन्नन ? किन समाजमा महिलाको भूमिकालाई फैलाउन सारी र गहना तथा खानपिनमा गरिने फजुल खर्चहरुलाई उत्पादनमूलक काममा लगाइन्नन ? किन महिना दिन अघि देखि देशको ठुलो अर्थतन्त्र तीजका दर र नाचगानमा स्वाहा पारिन्छ ? किन देखासिकीलाई बढ़ावा दिइन्छ ? सोचौं त, तीजको सेरोफेरोमा हुने यी खर्चहरुको २०% मात्र समाजका गरिब वर्ग सम्म पुग्ने हो भने कति भोकाहरुको दुई दिनको भोक मेटिन्थ्यो होला ? ख़ैर,अरूको भोक भन्दा आफ्नो सोख नै ठुलो हुन्छ,यो मानवीय स्वभाव भयो । तर महिलाको पर्वमा पुरुषले गर्ने रमाइलो,उनीहरूले गर्ने मदिरा,भोज र जुवातासको खर्चले देशको अर्थतन्त्रको कति ठुलो हिस्सा ओगट्छ होला ?

अब महिला दिदी बहिनीहरूले ‘मक्ख’ बन्ने बहाना खोज्न छोड़नु पर्छ र आफ्नो स-शक्तिकरणको लागि पहल गर्नुपर्छ । स-शक्तिकरणको पहल गर्नु भनेको वातावरण बिग्रिने गरी पारिवारिक विद्रोह गर्नु मात्र होइन,मानी आएको चलन र मान्यतालाई परिवर्तन गर्नु पनि हो । हेर्नोस त आज,इतिहास देखि आजसम्मका हरेक युद्धका कारण तपाईँलाई मान्नेहरुले तपाईँकै चाडको नाममा ‘दर’ भन्दै मदिरा पिइरहेका छन्,मासु खाइरहेका छन्,गीत गाइरहेका छन्,पैसा कमाइरहेक़ा छन् । तपाईँहरू बरु ‘दरको प्रोग्राम’ सिध्याएर बाल बच्चा स्याहार्न र घर सम्हाल्न भ्याइ-नभ्याई घर पुग्नुहुन्छ,तपाईँको पुरुष भने जाँड र जुवामा रात रित्याइदिन्छ । जब बिहान हुन्छ, तपाईँ फेरि उसैको लागि व्रत बस्नुहुन्छ अनि भोको पेटमा सारी र गहना लगाएर छमछमी नाच्न थाल्नुहुन्छ । तपाईँको चाड हो,दिल खोलेर नाच्नुस,गाउनुस,ख़ुसी हुनुस तर प्रयोग नहुनुस् । सदियौं देखी तपाईँलाई यसै गरी नचाइएको छ, मदारीले बाँदर नचाए झैँ । स्वतन्त्रता र सह-अस्तित्वको साथ मनपेट भरेर,मनपेट खोलेर नाच्नुस तर भोकै ननाच्नुस् । तपाईँ कसैले नचाइरहने र नाचिरहने ‘साधन’ मात्र हो र ?
यहाँहरूको तीज शुभ रहोस् !

हेमन्त गिरी ,टोकियोबाट

उक्त लेखलाई हिमाल पोस्टको अनुमति बिना कुनै पनि अनलाईनमा साभार गरेको पाईएमा कडा भन्दा कडा कारवाही गरिने छ ।