तमु ल्होसार र यसको महत्त्व ! - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

तमु ल्होसार र यसको महत्त्व !



-देवराज गुरुङ

गुरुङहरूको पर्वमध्ये ल्होसार एक महŒवपूर्ण पर्व हो । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आआफ्नो तिथि मितिअनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ भने एउटै छ । ल्होसार शब्द ल्हो र सार गरी दुई शब्दले बनेको छ । जसको अर्थ, ल्हो भन्नाले वर्ग र सार भन्नाले सुरुवात भन्ने जनाउँछ । जसको अर्थ हुन्छ नयाँ वर्गको सुरुवात अर्थात्, नयाँ वर्षको प्रारम्भ ।

यस वर्षको तमु गुरुङ ल्होसार पनि नजिकिँदै छ । तमु सम्बत्अनुसार प्रत्येक पुस १५ मा तमु ल्होसार मनाइन्छ । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्बत् सुरु भएको सङ्केत गर्छ । प्राचीन तमु पायो शास्त्रकाअनुसार तमु ल्होसारका दिन तमुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात् नयाँ ल्हो वर्गको थालनी हुने गरेको जनविश्वास छ । जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ । तमु गुरुङ जातिले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन् ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चरा ९च्यह्या–ल्हो० को वर्ष थियो भने यस वर्ष कुकुरको ९खि–ल्हो० रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् । यसवर्ष भने ९खि–ल्हो० कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ ।

यो  वर्षभरि जन्मनेहरू अब खि–ल्हो अर्थात् कुकुर वर्गको रहने छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशिष् आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरुङ जाति आफ्नै शैलीका भेषभुषा जस्तै महिलाले शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटाको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिको पनि पर्वहरू मनाउने आफ्नै शैली छ । यी जातिमा घाट, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाचेर आफ्ना परिवार साथीभाइसँग रमाइलो गर्छन् ।

गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्कीलगायत आसपासका जिल्ला गुरुङ बाहुल्य जिल्लाका रूपमा परिचित छन् । त्यस्तै देशका अन्य भागमा पनि गुरुङको बसोबास नगन्य मात्रामा रहेको छ । नेपालबाहेक विश्वका विभिन्न देश बेलायत, अस्ट्रेलिया, हङकङ, बु्रनाई, जर्मनी, भारत आदि देशमा पनि गुरुङ जातिको बसोबास छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन् । पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु, अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ ।

तमु ९गुरुङ० समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । यी हरफले के जनाउँछन् भने गुरुङ भाषा, कला र संस्कृतिमा निकै धनी छन् । त्यसका साथै आफ्नो जीवनसँगै संस्कार, भाषा, संस्कृति र परम्परा जीवन्त राख्नुपर्छ, अर्थात् मान्छेको पहिचान भनेकै संस्कृति हो । गुरुङहरूको पहिचानको अर्को नाम हो तमु । धर्म र संस्कृतिको खानीका रूपमा परिचित गुरुङले पछिल्लो समय आधुनिकताक नाममा आफ्नो संस्कृतिमा विकृति थुपार्ने काम गरिरहेका छन् । ल्होसारजस्तो गरिमा बोकेको पर्वलाई टुँडिखेलमा ल्याएर मनाउनुले संस्कृतिको खिल्ली उडाउने काम भइरहेको छ । ल्होसार आफ्नो मान्यजनको, बुढा–बुढी, बा–आमाको आशीर्वाद लिएर घर घरमा मान्नुपर्ने समयमा टुँडिखेलमा मान्नुले संस्कृतिमाथि ठाडो हस्तक्षेप भइरहेको छ । अझ नेपाल सरकारबाट मान्यता प्राप्त तमुको माउ सङ्गठन तमु ह्युल छोज् धीँ गुरुङ राष्ट्रिय परिषद् आफैँले नेतृत्व गर्दै टुँडिखेलमा ल्होसार मनाउनुले नेतृत्व माथि नै प्रश्न उत्पन्न भएको छ । देशमा गणतन्त्रको स्थापनापश्चात् पहिचान र अधिकारको कुरा निकै चल्यो तर कुनै पनि गुरुङ त्यतिको सङ्ख्यामा टुँडिखेलमा पहिचान माग्न भेला भएनन् जति ल्होसार मान्न जम्मा हुन्छन् । त्यसले पनि के स्पष्ट हुन्छ भने पहिचान कुनै राजनीतिक दल वा नेतालाई चाहिएको छ या तमुलाई यसका बारेमा उनी स्वयम् जानकार छैनन् ।

गुरुङले मात्र होइन, पछिल्लो समय अन्य आदिवासी जनजातिले पनि तमु ल्होसारको सिको गर्दै आफ्नो मौलिक चाडलाई टुँडिखेलमा प्रदर्शन गर्न थालेका छन् । तामाङको ल्होसार, किराँतको उँधौली उँभौली, मगरको भुमे पर्वलाई टुँडिखेलमा मान्दै आउन थालेका छन् । अर्कोतर्फ हामी जनजाति संस्कार र संस्कृतिमा निकै धनी छौँ । यसले पनि सङ्केत गरिरहेको छ कि हामी कतातिर बगिरेहका छौँ । के हामी आफ्नो पहिचानलाई मास्न त लागिरहेका छैनौँ । युवा पुस्तालगायत जिम्मेवार व्यक्तिले सोच्ने बेला आएको छ । हामी आदिवासी जनजाति पहिचान संरक्षण गर्नेतर्फ लागिरहेका छौँ कि मास्नेतर्फ रु
स्वभावैले बाजे पुस्ताभन्दा नाति, नातिना पुस्ता शिक्षित र परिस्कारवादी हुन्छन् । हरेक जात, जाति, धर्म र संस्कारका बाजे पुस्ताले मान्दै आएको संस्कृतिबारे अहिलेको २१ आँै शताब्दीका युवा र शिक्षित वर्गले सबल र दुर्वल पक्ष केलाउँदै त्यसको चिरफार गर्ने गरेका छन् । हरेक पर्व र संस्कृतिको वैज्ञानिक पक्ष, अन्धविश्वास, कुरीति आदि जाँचबुझ गर्दै त्यसलाई तर्कपूर्ण रूपमा लिने यो पुस्ताले त्यस्ता कुरीतिको अन्त्य गर्दै समाजलाई रूपान्तरणको बाटोमा डोहो¥याउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दिशामा लागि परेको छ । त्यसैले कुनै युद्ध जितेर त्यसैको खुसीयालीमा टुँडिखेलमा हर्ष बढाई गर्ने प्रथालाई पछ्याउँदै पछिल्लो समय प्रायःजसो हरेक समुदायले आफ्नो मौलिक पर्व टुँडिखेलमा मनाउनुले पर्वको खिल्ली उडाउँदै त छैन रु यो प्रश्न यति बेला ज्वलन्त बनेको छ ।

अर्कोतर्फ, हर्ष बढाई गर्ने स्थानमा ल्होसार मनाएर गुरुङहरूले के पाए रु यसले गुरुङ समूदायकोे उन्नयनमा के भूमिका खेल्यो रु यसको बारेमा समीक्षा गर्ने बेला आएको छ ।

टुँडिखेलमा आदिवासी जनजातिले भेला भएर आफ्नो मौलिक पर्व मनाउने नाममा सेलरोटी पकाउनु र ‘मोडर्न’ गीतमा कम्मर मर्काउनुलाई संस्कृतिको जगेर्ना भन्ने कि विकृति रु यस प्रकारको कार्यले गर्दा गुरुङ संस्कृति र पोसाकमाथि यसै समुदायका बुझक्कडले नै व्यङ्ग्य प्रहार गरिरहेको गरेको भान हुन्छ । सबैभन्दा ठुलो समस्या त कहाँ उत्पन्न हुँदैछ भने भोलिका सन्ततिलाई ल्होसार के हो रु भन्ने प्रश्न गर्दा यो टुँडिखेलमा मनाउने एक चाड हो भन्ने उत्तर दिनुपर्ने दिन त आउने होइन रु यसमा आजैदेखि आशङ्का उत्पन्न भइसकेको छ । त्यति बेला यसको जिम्मेवारी कसले लिने रु नयाँ पुस्तालाई के उत्तर दिने रु उनीहरूलाई संस्कृति सिकाउने कि विकृति रु त्यसैले उपल्लो तहमा बसेर जातीय राजनीति गर्नेहरूले यसको सामाधान खोज्ने बेला आएको छ ।

ल्होसारमा हजारौँ गुरुङलाई टुँडिखेलमा भेला गराएर राजनीतिक भाषण छाट्ने प्रवृत्तिले ल्होसारको महŒव र सांस्कृतिक पक्षमाथि ठुलो हस्तक्षेप भएको छ । गुरुङहरू टुँडिखेलमा भेला भई संस्कृतिको जगेर्नाका गर्ने हो कि नेताको भाषण सुन्ने हो रु त्यसैले नजिकिँदै गरेको ल्होसार मनाउन तम्तयार भएर बसेका समग्र गुरुङले यति बेला ठण्डा दिमागले सोच्ने बेला आएको छ । अर्कोतर्फ आफूलाई जनजातिका नेता भन्नेहरू ल्होसारको दिन टुँडिखेलमा जातीय स्वायत्तताक पक्षमा वकालत गर्नसम्म पछि पर्दैनन् ।

गुरुङले भन्ने गरेको तमुवान करिब अस्ताइसकेको छ । गुरुङमा कमजोर पक्ष के छ भने लाखौँको सङ्ख्यामा टुँडिखेलमा ल्होसार मान्न भेला हुने गुरुङहरू तमुवानको पक्षमा आवाज उठाउन हजारौँको सङ्ख्या त के सयाँैको सङ्ख्यामा उपस्थित हुन सक्दैनन् । यसले के सङ्केत गर्छ भने गुरुङलाई तमुवान चाहिएको छैन वा तमुवानको विषयमा जानकार नै छैनन् । नेताहरूले भोट बैङ्क स्थापनार्थ जातीय बिउ रोपेको यसबाट प्रस्टै हुन्छ । नेताले विभिन्न जातजातिमा रहेका विभिन्न कला, संस्कृति, संस्कार र मौलिकताक रक्षा गर्नका लागि पहल लिनुको सट्टा उल्टै समाजमा आदिमकालदेखि रहिआएका र मानिँदै आएका विभिन्न धर्म, कला तथा संस्कृतिलाई नै बटुलो पार्ने चलखेल गरिरहेकोप्रति सबै जातजाति तथा समुदायका मानसिक सचेत रहनुपर्ने अर्को टड्कारो आवश्यकता छ ।

अर्को पक्ष के रहेको छ भने आदिवासी जनजातिका नेताहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । उनीहरू पार्टी सरकारमा हुँदा सुतेको बाघजस्तै गरेर बस्छन् र पार्टी सरकारबाट बाहिरिएपछि फेरि ठुला कुरा गर्दै जातीयताक खोल ओढ्न सुरु गर्छन् । कुनै पनि राष्ट्रको प्रमुखले कुनै पनि जाति विशेषको प्रमुख कार्यक्रममा गएर सम्बोधन गर्नुले खास महŒव राख्दैन । महŒव त त्यस बेला राख्छ, जुन राष्ट्र प्रमुखले उक्त जनजातिको आवश्यकता र पहिचानलाई राष्ट्रिय मान्यता दिन्छ । त्यसैले अब गुरुङले सोच्नुपर्ने बेला आएको छ, ल्होसारको महŒव र अस्तित्व घरमा मानेर जोगिन्छ न कि टुँडिखेलमा ।

गोरखापत्रवाट