गुरुङ समुदायको ‘तमु ल्होसार’ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गुरुङ समुदायको ‘तमु ल्होसार’



काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएका छन् ।

तमुल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताए।

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन् ।

तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई आज शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै “विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन भन्नुभयो ।”

हामी लामो समय राजनीतिक हकअधिकारप्राप्तिको सङ्घर्षमा होमिनुपर्दा देशले विकासको गति लिन नसकेको र जनताले अभाव, अशिक्षा एवम् गरीबी भोग्नुपरेको बताउँदै उनले नेपालमा राजनीतिक मुद्दा सकिएकाले अब हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं भन
े।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ ।”

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिका आफ्ना आफ्नै खालका विशेषता र आफ्नै संवत्, संस्कृति र चाडपर्व रहेको उल्लेख गर्दै उहाँले त्यसैमध्येका एक तमु जातिले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको बताए।