रञ्जित तामाङले गरे संयोजक ऐन महरलाई कारवाही
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लडाईले भातृ संगठनमा समेत असर परेको छ । विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा यसको असर देखिएको छ ।
अनेरास्ववियूकै सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई कारवाही गरेका छन् । तामाङले आज एक विज्ञप्ति जारी गर्दै महरलाई कारवाही गरेको जनाएका छन् ।
तामाङले सत्ताको भजनकीर्तन गरेको, संगठनको छवि बिगारेको, प्रतिगमनकारी बाटोमा उभिएको लगायतको आरोप लगाउँदै महरलाई कारवाही गरेका छन्।
सहसंयोजक तामाङले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विडम्बना सडक बाघ सङ्गठनका रुपमा जनता र विद्यार्थीका आवाज घन्काउने अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउंदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजनकीर्तन गर्ने काममा मात्र तल्लीन हुन थाले । उहांले संगठनको परित विधान र प्रतिवेदनका बर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राख्नुभयो। समाजमा व्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन संघर्ष गर्ने संगठनको परम्परा विपरीत उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहे।’
उनले विज्ञप्तिमा थपेका छन्, संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारवाही गरिएको र उक्त कारवाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।