बर्षाैदेखि कार्यालय सहयोगीको तलबमाथि प्रधानाध्यापक र अध्यक्षको रजाइँ ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बर्षाैदेखि कार्यालय सहयोगीको तलबमाथि प्रधानाध्यापक र अध्यक्षको रजाइँ !



मङ्गल बास्कोटे/हिमालपोष्ट 
लम्की

देशैभर शिक्षक सङ्घ,महासङ्घ,बालबिकास,शिक्षक कर्मचारीपरिषदहरुले आफ्नो पेसागत सुरक्षा,खाइपाई आएको सेवासुबिधामा वृद्धि गर्नु पर्‍यो भन्दै सरकारलाई दबाब दिन विभिन्न आन्दोलनका कार्यक्रम जारी गरेकै बेला एक विद्यालयकी कार्यालय सहयोगीले पाउनु पर्ने पुरा तलब नपाएको खुलाएकी छन् ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नं.५ चौरीमा रहेको ज्ञानोदय प्राथमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी जानकी चन्दाराले कार्यालय सहयोगीहरूले खाइपाई आएको ४ हजार ५ सय रुपैयाँ अहिले सम्म आफूले नपाएको बताएकी छन् । ४ हजार ५ सय पाउनु पर्ने हो तर ३ हजार मात्र दिने गरेको उनले भनिन । विद्यालयको खातामा कार्यालय सहयोगीहरूको लागी मासिम तलब कति आउँछ भन्ने मलाई थाहा नै थिएन दुखेसो पोख्दै उनले भनिन । विद्यालयका प्रधानाध्यापकले पनि तपाईँको तलब यति छ भनेर अहिलेसम्म जानकारी दिएका छैनन् । एक दिन अर्को विद्यालयको कार्यालय सहयोगीसँगको भेटमा कुराकानी गर्दै जाँदा उहाँले मासिक ४ हजार ५ रुपैयाँ पाउँदै आउनु भएको रै छ बल्ल थाहा पाएँ । मलाई अचम्म लाग्यो, हामी दुवैको काम र पद एउटै हो तर पाउनु पर्ने पारिश्रमिकमा फरक किन ? भनेर प्रधानाध्यापक रन सिंह रावललाई सोध्दा तपाईँको तलब यति नै हो भनेर उहाँले जवाफ दिनु भएको थियो ।

तर अन्य विद्यालय सरह मलाई किन नमिलेको,माथिबाट आउने पैसा ३ हजार मात्र हैन ४ हजार ५ सय हो भनेर भन्दै जाँदा उहाँले विद्यालयमा अन्य कुनै ठाउँमा पैसा आउँदैन,निजी शिक्षकहरूलाई तलब दिनको लागी यसरी मिलाएको हुँ भनेर प्रतिक्रिया दिनु भएको थियो, उनले भनिन ।

विद्यालयको सरफाई देखि विद्यार्थीहरूलाई खाजा सम्मको यति धेरै काम गर्दा पनि पाउने पारिश्रमिक पुरा नपाउँदा उहाँले आफू ठगिएको महसुस ग गरेकी छन् । साथै नगरपालिकाबाट सरसफाइको लागी भनेर पठाएको ७ हजार रुपैयाँ पनि आफूले नपाएको दुखेसो उनले गरेकी छन् । यसै विषयमा विद्यालयका प्रधानाध्यापक रन सिह रावललाई सोध्दा उनले कार्यालय सहयोगीहरूलाई ३ हजार मात्र दिएको स्वीकार गरेका छन् । नियम सम्मत माथिबाट आएको पैसामा तपाइहरूले निर्णय गरेर कम दिन मिल्दैन पुरा पैसा दिनु पर्छ भनेर प्रधानाध्यापक रावललाई सुझाव दिँदा पुरा पैसा दिन नमिल्ने उनले बताएका छन् ।

यसै विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम वटासँग कुरा गर्दा उनले पनि ठोकुवाका साथमा पुरा पैसा दिन नसकिने जिकिर गरे । धेरै काम कम तलब सुविधा भएको कर्मचारीको नाम सायद कार्यालय सहयोगी नै हो । त्यसैमा पनि आएको तलबलाई विभिन्न वाहानमा हडप्न खोज्नु मानवअधिकार हनन गर्नु हो ।

एउटा कार्यालयको तल्लोस्तरको कर्मचारीको तलबलाई काटेर भागबण्डा गरी रज्याइ गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्बन्धित सरोकारवाला पक्षले कानुनी दायरामा ल्याई कारबाही गर्नु पर्ने र पीडित कार्यालय सहयोगीको अहिले सम्म काटिँदै आएको सम्पूर्ण रकम फिर्ता गरिदिनको लागी पहल गर्नु पर्ने देखिन्छ ।