वर्षमान र जनार्दनको टक्करले महासचिवमा अर्कैले बाजी मार्ने सम्भावना - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

वर्षमान र जनार्दनको टक्करले महासचिवमा अर्कैले बाजी मार्ने सम्भावना



काठमाडौं। नेकपा (माओवादीकेन्द्र) को महासचिव को बन्ने भन्नेमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। अध्यक्षपछिको सबैभन्दा शक्तिशाली उक्त पदमा माओवादी छ आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्।

उक्त पदका लागि प्रवल दाबेदारकका रूपमा युवापुस्ताका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मा देखिएका छन्। संगठनमा सबैभन्दा प्रभावशाली मानिने दोस्रो पुस्ताका नेताद्वयको संभावना घटेको माओवादी स्रोतले जनाएको छ।

वर्षमान पुन गम्भीर बिरामी परेका कारण चीनमा उपचाररत छन्। उनी र उनकी पत्नी ओनसरी घर्ती दुवै महाधिवेशनमा उपस्थित हुन सकेका छैनन्। काठमाडौंमा माओवादी महाधिवेशन शुरु भएपछि बेइजिङमा राजनीतिक भेटघाट थालेका उनी अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष संवादमा रहेको माओवादी नेताहरूले बताउँदै आएका छन्। संगठनभित्र प्रभाव राख्ने उनी महासचिवका सबैभन्दा बलिया दाबेदार मानिन्छन् तर उनको अनुपस्थिति महासचिव बन्न सबैभन्दा बाधक हुन सक्ने अनुमान माओवादीभित्र छ।

अर्का प्रवल दाबेदार हुन्- जनार्दन शर्मा। वर्षमानजस्तै सशस्त्र द्वन्द्वकालका माओवादी सेनाका लडाकूका ‘डेपुटी कमाण्डर’ हुन शर्मा। हाल उनी अर्थमन्त्री छन्। एमालेसँगको एकतादेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकट रहेर काम गरेका नेता हुन् उनी।

संगठनभित्र वर्षमानजस्तै प्रभाव राख्ने शर्मा उनका प्रतिस्पर्धी मानिन्छन्। वर्षमानले जनार्दन र जनार्दनले वर्षमानलाई उछिन्ने प्रयासमा दुवै नेतालाई तत्काल महासचिव बनाउन मुस्किल पर्ने अनुमान माओवादीभित्र छ तर भावी पार्टी अध्यक्षका रूपमा ‘प्रोजेक्सन’ गरिएका यी दुवै नेतामध्ये एकलाई उपाध्यक्ष र अर्कोलाई महासचिव बनाउनसक्ने उपाय प्रचण्डले अपनाउन सक्ने संभावना बाँकी नै रहेको माओवादीका एक नेताले बताए।

माओवादी स्रोतका अनुसार, ५० वर्षका वर्षमान र उनीभन्दा नौ वर्ष जेठा जनार्दन दुवै पालैपालो अध्यक्ष हुनेगरी अघि बढाउने प्रयास प्रचण्डको छ तर आपसमा नमिल्ने दुवै नेतालाई यसअघि नै पटक-पटक संवादसमेत गराइसकेका छन् तर यसमा सफल हुन सकेका छैनन्। जनार्दन र वर्षमानको प्रतिस्पर्धाको बीचबाट सोही पुस्ताका अर्का नेता शक्ति बस्नेत महासचिव बन्ने प्रयासमा रहेका छन्। बस्नेत पनि प्रचण्डका अतिप्रियपात्र मध्ये हुन्।

वर्षमान, जनार्दन र शक्तिबाहेक उनीभन्दा वरिष्ठ नेताहरू पनि महासचिवका आकांक्षी छन्। उक्त तीनै जनालाई नबनाएर देव गुरुङ महासचिव बन्ने संभावना रहेको एक नेताले जानकारी दिए। “उहाँ वरिष्ठ पनि हो, जनजाति पनि हुनुुहुन्छ”, ती नेताले भने, “उहाँ पनि कम्पिटेन्ट पनि हुनुुहुन्छ।”

अर्का प्रवल उम्मेदवार पूर्वमहासचिव कृष्णबहादुर महरा हुन्। उनलाई पनि वर्षमानले नरुचाउने बताइन्छ तर पूर्वसभामुख महरा यसअघि लागेको आरोपले त्यत्ति सक्रिय छैनन्। प्रचण्डले उनलाई बनाउन चाहनुभयो भने अरू कसैले पनि बोल्न नसक्ने नेताहरूको दाबी कछ।

नेता हरिबोल गजुरेलले आफू पनि महासचिवको दाबेदार भएको बताएका छन्। उनले आफू पनि दाबेदार भएको तर बिरामी परेकोले बैठकमा जान नसक्ने बताएका थिए ।

अर्की नेतृ पम्फा भुसाल पनि उक्त पदकी अर्की दाबेदार हुन्। भुसाल ०५१ सालअघि नै संयुक्त जनमोर्चाको अध्यक्ष भइसकेकी नेतृ हुन्। उनले पनि आफूले अध्यक्षसमक्ष महासचिवको दाबी गरेको बताएकी छन्। सोमबार अपराह्न बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने कार्यक्रम छ।