पार्टी फुट्ने आकलन: आ-आफ्नो तागतको हिसाबकिताब गर्दै दुई समूह - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

पार्टी फुट्ने आकलन: आ-आफ्नो तागतको हिसाबकिताब गर्दै दुई समूह



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति परीक्षणमा लागेका छन्।

उनीहरूले आआफ्ना समूहका नेता कार्यकर्ता भेला गर्दै समर्थकको संख्या आकलन गर्न थालेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

पार्टीमा वार कि पारको अवस्था आउन लागेको विश्लेषण गर्दै उनीहरूले सानो सानो समूह तथा नेताहरूको भेला गरेर आआफ्नो तागतको हिसाबकिताब गर्दैछन्। आफ्नो पक्षमा कुन कुन कमिटीमा बहुमत छ भनेर पनि उनीहरूले समूहका नेताहरूसँग बुझिरहेका छन्।

दाहाल– नेपाल समूहले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा तलसम्मै आफ्नो समूह बहुमतमा रहेको जनाएका बेला ओली पक्षले पनि कमिटीगत रूपमै बहुमत–अल्पमतको हिसाब गरिरहेको छ। ‘दुवै पक्षले बहुमत–अल्पमतको जोड–घटाउ गरिरहेका छन्’, नेकपा स्रोतको दाबी छ।

प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका छन्। उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन्।

कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ। ‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन्। उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन्। समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन्’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने।

उनका अनुसार नेताहरूले यसरी बैठक गरेर कार्यकर्ताबीच पनि चिरा पारेकाले पार्टी सग्लो देखिए पनि अनौपचारिक रूपमा विभाजन भइसकेको छ।