तारिणीप्रसाद स्मृति सञ्चारग्रामको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

तारिणीप्रसाद स्मृति सञ्चारग्रामको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन



विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका लागि गठन भएको परियोजना समन्वय समितिको आज विराटनगरमा बसेको विशेष बैठकमा उनले प्रजातान्त्रिक रेडियोको रुपमा नयाँ जीवन शुभारम्भ गरेका स्वर्गीय तारिणीप्रसाद कोइरालाको सम्झनामा निर्माण हुन लागेको सञ्चारग्राम नेपालकै नमूनाको रुपमा रहने विश्वास व्यक्त गरे ।

उनले प्रजातान्त्रिक आन्दोलनको बीचमा रेडियो स्थापना गरेर आन्दोलनको सन्देश जनतासम्म पु¥याउने घटना सम्भवतः अन्य मुलुकमा पनि भएको नसुनिएको प्रसंग उल्लेख गर्दे रेडियो इतिहासको सो घटना महत्वपूर्ण घटना भएको चर्चा गरे ।

नेपालको प्रजातान्त्रिक इतिहाससँग जोडिएको सो सञ्चारग्रामको निर्माण कार्य गुणस्तरीय हुनुपर्ने र डिजाइनअनुरुप समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि अग्रसर हुन निर्माण कार्यमा संलग्न निकायलाई सञ्चारमन्त्रीले सचेत गराए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चारग्राम निर्माणका लागि महानगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराएको र निर्माण कार्यको महानगरपालिकाको प्राविधिकका साथै आपूmले पनि समय समयमा अनुगमन गर्ने गरेको बताए ।

सो अवसरमा सञ्चारग्राम निर्माणका लागि गठित परियोजनाका संयोजक एवं रेडियो नेपालका निर्देशक सुरेशकुमार कार्कीले निर्माण कार्यको वस्तु स्थितिबारे जानकारी गराउँदै सञ्चार क्षेत्रका साथै साहित्य, कला, सीपमूलक तालीमलगायतको व्यवस्था रहने बताए ।

सो सञ्चारग्राम रु १८ करोड २५ लाख ५२ हजारमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रसंग उल्लेख गर्दै उनले रु पाँच करोड ५० लाख रेडियो नेपालबाट बाँकी रकम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपलब्ध गराउने भएको उल्लेख गरे ।

मन्त्रीद्वारा स्थलगत निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज विराटनगर–४ मा निर्माणाधीन अवस्थामा रहेको तारिणीप्रसाद सञ्चार ग्रामको स्थलगत निरीक्षण गरे  ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माणकार्य गुणस्तरीय हुनुपर्ने, डिजाइनअनुसारनै काम सम्पन्न गर्नुपर्ने विषयमा निर्देशन दिनुका साथै निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।