नायिका श्वेताको भावुक स्टाटस : जिन्दगीको दोस्रो खेल - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

नायिका श्वेताको भावुक स्टाटस : जिन्दगीको दोस्रो खेल



काठमाडौं– अभिनेत्री श्वेता खड्काको गर्दनमा ट्युमर देखिएपछि उनी शल्यक्रियका लागि भारतको दिल्ली पुगेकी छन्। सोमबार शल्यक्रिया सफल भएको भन्दै उनले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै खुसी व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, ‘मेरो दोस्रो जिन्दगी! मसँग आफ्नै जिन्दगीले दोस्रो पटक खेल खेल्यो। जीवन अनिश्चित छ, त्यो सत्य हो। थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नैअघि विलिन हुन्छन्। म नयाँ फिल्म हेलो जिन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दु:खी छु। फिल्म सुटिङका लागि लन्डन गएको केही दिनपछि मेरो घाँटी र चिउँडो नजिकै असह्य पीडा भयो। डाक्टरलाई देखाउँदा ट्युमर रहेको र त्यसलाई हटाउनुपर्ने सल्लाह प्राप्त भयो। तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि दिल्ली आएर उपचार गराइरहेकी छु।’

उनका अनुसार दिल्लीस्थित बिएलके अस्पतालमा सुरेन्द्र कुमार दवासले उनको सफल शल्याक्रिया गरेका हुन्।

श्वेताले यसअघि पनि सामाजिक सञ्जालमा केही भावुक स्टाटस लेख्दै आएकी थिइन्। तर, शल्यक्रियाका लागि दिल्ली पुगेको कुरा भने सोमबार उनकै फेसबुकबाट बाहिर आएको हो।