हल्ला र प्रचार बिना नै श्‍वेताले बनाईन सिङ्गो माझी बस्ती - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

हल्ला र प्रचार बिना नै श्‍वेताले बनाईन सिङ्गो माझी बस्ती



काठमाडौं – काम गर्नलाई हल्ला, प्रचार र सहयोगको याचना गर्नै पर्छ भन्ने छैन । झ्याली नपिटेर पनि काम गर्न कसैलाई छेक्दैन भन्ने पछिल्लो उदाहरण बनेकी छिन नायिका स्वेता खड्का । सिन्धुपाल्चोकको एउटा माझि बस्ति नै खडा गर्दा पनि मिडिया र जनताले सुईको सम्म पनि पाएनन् ।

विनाशकारी भूकम्पले सिन्धुपाल्चोकको माझी बस्ती ध्वस्त पार्‍यो। धेरै माझी घरबारविहीन भए। भूकम्पले घरमात्रै ढालेन, माझीका रहर र सपना पनि गल्र्यामगुर्लुम ढल्यो । सुन्दर बस्ती निमेषभरमै भग्नावशेषमा परिणत भयो । त्यसपछि माझीहरू निकै दुःखी बने। कसरी घर बनाउने, कसरी बालबच्चा पढाउने, कसरी परिवार पाल्ने भन्ने पिरलोले पेल्न थाल्यो उनीहरूलाई। सोही समयमा माझी बस्तीमा पसिन् नायिका श्वेता खड्का। उनी माझीका घाउमा मलम लगाउन पुगेकी थिइन्।

श्वेता खड्का, नेपाली चलचित्रकी एक मिजासिली नायिका हुन् । उनलाई एक आत्मविश्वासी नायिकाका रुपमा लिइन्छ। यतिबेला तिनै श्वेताले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटारमा भूकम्पले भत्काएका माझीका ५३ घर निर्माण गरेर एउटा उदाहरणीय काम गरेकी छन्।

समाजमा कुनै काम गर्नुपूर्व निकै प्रचारप्रसार गर्नेको ठूलो जमात छ। श्वेताले भने कुनै प्रचारबिनै गुमनाम एक सुन्दर बस्ती ठड्याएकी छन्। श्वेताश्री फाउन्डेसन खडा गरी सामाजिक कर्ममा जुटेकी श्वेताले बस्ती निर्माण गर्नुपूर्व पनि कुनै प्रचार गरिनन्। बस्ती निर्माण गरिसकेपछि पनि उनले प्रचार गर्न चाहिनन्।

बरु बस्ती निर्माणको अन्तिम चरणमा पुग्नै लाग्दा फेसबुक वालमा लेखिन्, ‘सानो घर, हाम्रो रहरको सपना साँचेका मेरा प्रिय माझी बस्तीका दाजुभाइ तथा दिदीबहिनीसँग हातेमालो गर्दै यहाँसम्म आइपुगियो । धेरै कष्ट सहियो, धेरै हन्डर खाइयो। कतिले गाली गरे। केहीले आस देखाए भने कोहीले उपहास गरे। उनले भनिन्, ‘सहयोगीको साथ र माझी बस्तीका युवाको हातका कारण हामी सपनालाई विपनामा परिणत गर्ने तरखरमा छौं । केही काम बाँकी छन्। म एक्लैले अपुरो काम पूरा गर्न सम्भव छैन। आउनुस् अझै मौका छ। नमुना माझी बस्तीमा आफ्नो योगदान गरौं।’

त्यसपछि उनले गुमनाम गरेको त्यत्रो महान् कार्यको निकै प्रचार भयो। उनको कामको थुप्रैले प्रशंसा गरे। सामाजिक प्रयोगकर्ता लेखराज राईले फेसबुकमा लेखे, ‘आदरणीय दिदी श्वेता खड्कालाई हृदयदेखि सम्मान गर्दछु। जुन ऐतिहासिक कामका लागि भूकम्पले ढलेको भग्नावशेष घरको सामुन्ने बसेर एकीकृत बस्तीको कल्पना गरिरहँदा धेरैको हाँसोको पात्र बन्नुपरेको तितो यथार्थलाई कहिल्यै बिर्सन सकिन्न। हाम्रो सोच सपना र कल्पनालाई उपहास गर्नेहरू आज आफै लज्जित बनेका छन्। एउटा सुन्तर बस्ती बसाउने यो अभियानमा हातेमालो गरिदिने सरकारी, गैरसरकारी संघसंस्था लगायत सम्पूर्ण मनकारी दाताहरूप्रति र फेरि पनि श्वेता खड्का दिदीलाई हार्दिक नमन।’

उनले लेखेको त्यो स्ट्याटससँगै निर्माण गरिएको बस्तीको तस्बिर पनि सार्वजनिक गरेकी थिइन्। उक्त स्ट्याटसपछि श्वेताको कामको तारिफ भयो। उनीप्रति धेरैले कृतज्ञता ज्ञापन गरेका छन्। धेरैले यत्रो काम गर्दा कुनै चर्चा नगरेको भन्दै अचम्म माने ।

श्वेताले त्यसपछि स्ट्याटस लेखेकी छन्, ‘हो ! मेरो अभिनयको क्षेत्र भिन्नै छ। जहाँ म नचाहेर पनि हास्नुपर्छ। मन नलागी–नलागी रुनुपर्छ। थाकेको हुन्छु, नाच्नुपर्छ। मौन बस्ने मन हुँदाहुँदै गुनगुनाएको जस्तो गर्नुपर्छ। त्यो सिनेमाको एउटा पाटो हो। तर, सामाजिक कामको जिम्मेवारी अर्कै छ। जहाँ अभिनयभन्दा पनि वास्तविक जीवनको भोगाइमा सम्मिश्रित भइन्छ। अर्काको दुःख आफ्नै जस्तो लागेर रोइन्छ। अनि अर्काको सुखमा हाँसीखुसी रमाइन्छ। जहाँ मन जोडिन्छ नि हजुर। त्यहाँ भावना मिल्छ। म मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु। अभिनयले हाइन। मेरो क्षमता, गक्षता र सीपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मनबाट नै सामाजिक सेवाको क्षेत्रमा होमिनेछु। मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन। यो मेरो प्रण हो।’

चार सय ६५ वर्ग फिटमा निर्माण भएको उक्त बस्तीको लागतप्रति घरको करिब ७ लाख खर्च भएको छ। ५३ घर निर्माण गर्दा करिब तीन करोड ७१ लाख खर्च भइसकेको उनले बताएकी छन्। उनी आफ्नो घर सहकारी संस्थामा धितो राखेर समेत उक्त बस्ती निर्माणमा जुटेकी हुन्।