स्वास्थ्य व्यवसायी समिति सैनामैनाद्धारा स्वास्थ्य सामाग्री सहयोग - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्वास्थ्य व्यवसायी समिति सैनामैनाद्धारा स्वास्थ्य सामाग्री सहयोग



कृष्ण ज्ञवाली/रुपन्देही

कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य व्यवसायी समिति सैनामैना रुपन्देहीले उनीहरूको सुरक्षाका लागी शुक्रवार सैनामैना नगरपालिकालाई पीपीई, स्यानिटाईजर, मास्क र पञ्जालगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

करिब ७५ हजार रुपैयाँ भन्दा बढीको सो सामाग्री प्रदान गरिएको स्वास्थ्य व्यवसायी समिति सैनामैनाका अध्यक्ष एक बहादुर क्षेत्रीले बताए ।

समितिले सहयोग गरेको उक्त सामाग्री पर्रोहा हेल्थपोष्ट, दुधराक्ष स्वास्थ्य चौकी, सालझण्डी स्वास्थ्य चौकी, आमी स्वास्थ्य इकाई क्लिनिक, पदमपाणी सैनामैना तथा प्राकृतिक चिकित्सालय एवं अस्थायी क्वारेन्टाइन अस्पताल, इलाका प्रहरी कार्यालय सालझण्डी, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया लगायतलाई सहयोग गरिएको हो ।

सो अवसरमा आँकुरा फाउन्डेसनले सैनामैनाबाट सञ्चालन हुने ५ वटा एम्बुलेन्सका चालकलाई एक एक थान पीपीई सहयोग गरेको छ । निजी क्षेत्रले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको जिउधनको सुरक्षाकालागि सहयोग गरेकोप्रति नगरप्रमुख चित्र बहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका छन् ।

मेयर कार्कीले यी सामाग्री सही ठाउँमा सदुपयोग गर्ने बताउँदै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा हौसला मिल्ने विश्वास व्यक्त गरे ।

विश्वभर फैलिइएको कोरोनाभाइरसबाट बच्न र बचाउन अहोरात्र खट्ने स्वास्थ्य तथा सुरक्षाकर्मीको सुरक्षाका लागी आफूहरूले राहत स्वरूप सहयोग गरेको स्वास्थ्य व्यवसायी समिति सैनामैनाका अध्यक्ष एक बहादुर क्षेत्रीले बताए ।

यस्तो सङ्कटको बेला आ-आफ्नो स्थानबाट सहयोग गर्ने बेला आएको भन्दै लकडाउनको पुर्णपालना गर्न सबैलाई क्षेत्रीले आग्रह समेत गरे ।