परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रमबाट एकाएक बाहिरिइन स्वराज - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रमबाट एकाएक बाहिरिइन स्वराज



भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन– सार्कको सक्रिय पुनर्जीवनको पक्षमा नरहेको अर्को स्पष्ट संकेत दिएको छ।

न्युयोर्कमा सार्कको अध्यक्षता लिएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकको बीचैमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज निस्किएपछि सार्कविरुद्ध भारतले कडा अडान लिएको रुपमा यसलाई हेरिएको छ। स्वराजको बहिर्गमन लगत्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले व्यंग्यमिश्रित भाषामा भने,  ‘हुनसक्छ उहाँलाई सन्चो थिएन र बिचैमा बाहिरिनु भयो।’

बैठकबाट निस्कनुअघि स्वराजले भनिन्– दक्षिण एसियाली क्षेत्रको विकास र समृद्धि भारतको छिमेकी पहिला नीतिअन्तर्गत उच्च प्राथमिकतामा छ।

अर्थात क्षेत्रीय संगठन र सामूहिकताभन्दा बढी भारतले आफ्नो परराष्ट्र नीतिअन्तर्गत क्षेत्रीय सहयोग अगाडि बढाउने स्पष्ट पारेर सार्क उसको चासोमा नपरेको संकेत दिएको छ। स्वराजसँगै अफगानिस्तान र बंगलादेशका विदेशमन्त्री पनि बैठकबाट बाहिरिए। तर, भुटानका विदेशमन्त्रीले भने उनीहरुलाई साथ दिएनन्।

इस्लामावादमा हुने निश्चित भएको सन् २०१६ को सार्क शिखरलाई पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोपका साथ बहिस्कार गर्दै आएको भारतले भारत, भुटान, बंगलादेश र नेपाल (बीबीआईएन) तथा यता आएर बिमस्टेकजस्ता क्षेत्रीय मञ्चहरुमा नेतृत्वदायी भूमिका खेल्ने चाहना देखाउँदै आएको छ, पाकिस्तानलाई बाहिर राखेर। न्युयोर्कमा जारी राष्ट्र संघको ७३ औं महासभाको अवसरमा पाकिस्तान र भारतका विदेशमन्त्रीको भेटघाट तय गरिए पनि गत साता भारतले एकतर्फी रुपमा त्यसलाई रद्द गरेको थियो, सीमावर्ती क्षेत्रमा पाकिस्तानले गैर सैनिक नागरिक मारेको आरोपका साथ।

परराष्ट्रमन्त्री ज्ञवालीले आयोजना गरेको बैठकमा पाकिस्तानी विदेशमन्त्री आउने भएपछि उनले बोल्नु अघि नै स्वराज आफ्नो मन्तव्य दिएर बाहिरिएकी थिइन्। नेपाल सार्क आयोजना गरी उक्त संगठनलाई सक्रिय गराउनु पर्ने अडानमा छ।