स्वागत नेपालको घोषणा प्रधानन्यायाधीशको इजलास बहिष्कार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

स्वागत नेपालको घोषणा प्रधानन्यायाधीशको इजलास बहिष्कार



काठमाडौं :

अधिवक्ता स्वागत नेपालले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास वहिष्कार गर्ने घोषणा गरेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान सुरु भएकाले उनको इजलास बहिष्कारको घोषणा गरेका हुन्।

प्रा.डा गोविन्द केसीको बयानका क्रममा प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषय अदालतमा वैधानिक रुपमै अभिलेखिकृत भइसकेको भन्दै अधिवक्ता नेपालले उनको इजलास बहिष्कार गर्ने बताए।

उनले भनेका छन् ‘जसरी प्रमाणपत्र सम्बन्धी प्रश्न उठेपछि उच्च प्रहरी अधिकारीदेखि सबै राष्ट्रसेवक कर्मचारी त्यसको छानबिन नहुन्जेलसम्म कार्यसम्पादका लागि अनुमति पाउन सक्दैनन् त्यसैगरी न्यायाधीश र प्रधानन्यायाधीशले पनि सक्तैनन्’,

‘उनको विषयमा अब सबै आरोपहरु औपचारिक रुपमा सर्वोच्च अदालतकै न्यायाधीशको रोहवरमा भएको डा गोविन्द केसीको बयानका क्रममा अभिलेखिकृत भइसकेको छ। त्यसलाई न्यायालयले अनदेखा गर्न मिल्दैन, ती आरोपहरु यसपूर्व अनौपचारिक थिए, अब त्यसले वैधता र औपचारिकता पाएको छ।’

प्रधानन्यायाधीशमाथि लागेका आरोपले औपचारिकता पाएकाले अब इमान्दार अधिवक्ताले इजलासमा बहस गर्नु पैसाका लागि काम गर्नु मात्र भएकाले आफूले बहिष्कारको घोषणा गरेको उनको भनाइ छ।

‘प्रधानन्यायाधीशमाथिका आरोपले औपचारिकता पाइसकेको अवस्थामा ती विषयमा निक्र्यौल नभई म इमानदार अधिवक्ता हो भने मैले उहाँको इजलासमा बहस गर्नु भनेको न्याय माग्न आउने पक्षको शुल्क मात्र पचाउन केवल पेशा चलाउनु हुनेछ’, अधिवक्ता नेपालले भने, ‘व्यवसायिक हुनु र व्यापारिक हुनु फरक कुरा हो। म व्यवसायिक अधिवक्ता हो व्यापारिक होइन, त्यसैले उहाँको इजलासमा म व्यवसायिक अधिवक्ताले अब बहस गर्न सक्तिनँ।’

अधिवक्ता नेपालले प्रधानन्यायाधीशको इजलास बहिष्कार गरे पनि उनको पक्षका अन्य अधिवक्ताले बहस गरे अदालती प्रक्रिया अवरोध हुने छैन। यद्यपी उनको पक्षका सबै अधिवक्ताले बहस बहिष्कार गरे भने अदालती प्रक्रिया नै अवरुद्ध हुने छ।

अधिवक्ता नेपालले प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्न पक्षका सबै अधिवक्तालाई सम्झाउने समेत बताए। ‘म मेरा पक्षहरुलाई यो विषयमा सम्झाउँछु’, अधिवक्ता नेपालले भने।

पत्रपत्रिकाको सहयोगमा