सुवास नेम्वाङले एकाएक बोली फेरे - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

सुवास नेम्वाङले एकाएक बोली फेरे



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बोली फेरेका छन् ।  प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएको भिडियो भाइरल भएको केहि दिनमै नेम्वाङले प्रधानमन्त्री ओलीको कदम संवैधानिक भएको बताएका छन् । 

नेम्वाङले शनिबार ओली पक्षको प्रदेश–१ सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै वर्तमान सरकारले संविधान अनुरुप नै काम गरिरहेको दाबी गरेका छन्। 

संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गरे।

संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताए। 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी नगर्दासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उनको भनाइ छ।

नेम्वाङले सरकारले घोषणा गरेको १७ र २७ वैशाखमा नै निर्वाचन हुने दाबी पनि गरे।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउँदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै विज्ञहरूले टिप्पणी गरिरहेको उनको भनाई छ।

देश निर्वाचनमा गइसकेकोले प्रतिपक्षी दलले निर्वाचन केन्द्रित भएर कार्यक्रम गरिरहेकोले आफूहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने दाबी पनि गरे। देशको संविधान, कानून तथा विगतको अभ्यासहरूको आधारमा पार्टीको आधिकारिकता आफूहरूले पाउनुको विकल्प नरहेको उनको भनाइ छ।