मोटरसाइकल दुर्घटनामा परी वाइसीएल नेता पौडेलको निधन - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मोटरसाइकल दुर्घटनामा परी वाइसीएल नेता पौडेलको निधन



नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित भालुपहाडबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले जानकारी दिए । उनका अनुसार शव भीरमा अड्किएको छ ।

‘मोटरसाइकल एकातिर शव एकातिर छ,’ उनले भने, ‘मोटरसाइकलका पाट–पाट छिरलिएका छन् । हेल्मेट अन्तै छ । सडकबाट शव ७० मिटर तल खसेको छ भने, मोटरसाइकल सेती खोलादेखि १२० मिटर माथि रहेको छ । शव भीरमा नै अड्किएकाले हामीले निकाल्न नसकेपछि पोखराबाट रेस्क्यू टीम बोलाएका छौं ।’

रेस्क्यू टीम भर्खरै घटनास्थल पुगेर डोरी लगाई शव झिक्न लागिएको उनले बताए । ३५ वर्षीय सुवास फेदीखोला–१ सर्केटारीकै बासिन्दा हुन् । शुक्रबार वाईसीएल जिल्ला कमिटी स्याङ्जाको बैठक सकेर पोखरा फर्किने बेला मोटरसाइकल चिप्लिएर भालुपहाडको भीरबाट खसेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि नै पौडेल सम्पर्कमा नआएपछि उनका घरपरिवारले प्रहरीमा खोजतलासको लागि शनिबार निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा भालुपहाडस्थित मृत भेटिएको हो । प्रहरीका अनुसार पौडेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी छ ।

पौडेल अखिल (क्रान्तिकारी) हुँदै वाईसीएल र पार्टीको राजनीतिमा सक्रिय थिए । हाल उनी फेदीखोला गाउँपालिको नेकपा (माओवादी केन्द्र)को सचिव थिए ।