प्रधानमन्त्री ओलीलाई सुटुक्क भेटेर फर्किए मुख्यमन्त्री गुरुङ
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । प्रधानमन्त्री ओली भेट्न सुटुक्क काठमाडौं आएका गुरुङ एकैदिनमा पोखरा फर्केका छन् ।
शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे पोखरा फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौँ बोलाएपछि मुख्यमन्त्री गुरुङ काठमाडौँ आएका थिए । गण्डकी प्रदेश सरकारबारे प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर मुख्यमन्त्री गुरुङ फर्किएको जनाइएको छ ।
विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुङको पद सङ्कटमा परेको छ । १५ वैशाखमा अविश्वासको प्रस्ताव प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यसपछि भने मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीसँग कुराकानी गर्न काठमाडौँ आएका हुन् । कुराकानीबारे भने अझै केही खुलाइएको छैन ।
तर, अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने परिस्थिति सिर्जना हुनासाथ बैठक स्थगित गरिएपछि मुख्यमन्त्री गुरुङ सभामुखसँग असन्तुष्ट हुँदै आएका छन् । अब बोलाइने बैठक सहज रुपमा चल्न नदिने पनि मुख्यमन्त्री गुरुङले सङ्केत दिइसकेका छन् ।