मन्त्रालयमै छिरेर आलेको भिडियो लिने को हुन् शंकास्पद व्यक्ति ?
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अश्लिल शब्द बोलेको भिडियो सार्वजनिक भएको सन्दर्भमा उनको सचिवालयले मुख खोलेको छ । पुरानो भिडियो संवाद तोडमोड गरेर मन्त्रीलाई बदनाम गर्ने हेतुले एउटा गिरोह सक्रिय भएको बताउदै सचिवालयले कानुनी परामर्श थालेको पनि बताएको छ ।
आज बिहान मन्त्री आलेले अश्लिलको बोलेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो तोडमोड, काँटछाँट गरी सार्वजनिक गरिएको भन्दै सचिवालयले छानबिन गर्न प्रहरी प्रशासनसंग अनुरोध गरेको छ । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना कर्णालीका एक माननीयमार्फत पाएको र नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको पनि सचिवालयले उल्लेख गरेको छ ।
एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले मन्त्री आलेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि नकारात्मक कमेन्ट गर्न थालेको सचिवालयले जनाएको छ । उनले लाखौँ रकम बार्गेनिङ गरेको तथ्य सार्वजनिक भैसकेको छ ।
पछिल्लो समय पर्यटनमन्त्री आले जनपक्षीय काम गरेर चर्चामा रहेकाले उनीविरुद्ध गिरोह नै सक्रिय भएको सचिवालयको ठहर छ । मन्त्रालयमा पनि शंकास्पद व्यक्ति आउने गरेको र उनीहरुलाई जबरजस्ती निकाल्नु परेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
‘पर्यटन मन्त्रीका पछिल्ला लोकप्रिय काम कारवाहीमा कसरी अवरोध ल्याउन सकिन्छ भनेर एउटा गिरोह सक्रिय छ । मन्त्रालयमा पनि केही अपरिचित शंकास्पद व्यक्तिहरुलाई सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुले निगरानी गरेका थिए, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता व्यक्तिहरु मन्त्रीलाई पछ्च्याईरहेका देखिन्थे। अनुमति नलिई भिडियो खिचिरहेका देखिन्थे। थुप्रैलाई हामीले सचिवालयबाट निकाल्नु परेका घटना नभएका होइनन् ।’