सुशिला कार्कीले खोलिन न्यायपालिका र न्यायाधीशहरुको पोल - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सुशिला कार्कीले खोलिन न्यायपालिका र न्यायाधीशहरुको पोल



काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले न्यायपालिका र न्यायाधीशहरुको पोल खोलेकी छन् । उनले स्वतन्त्र न्यायपालिका भनिए पनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउने प्रवृत्तिले गर्दा न्यायपालिका र न्यायाधीशहरु बिग्रिएको भन्दै न्याय क्षेत्रका विकृतिको बारेमा खुलेर बताइन् ।

कार्कीले कतिपय न्यायाधीशहरु जानीजानी परतन्त्रबाट प्रभावित हुने गरेको टिप्पणी समेत गरेकी छिन् । उनले काठमाडौँमा बुधबार नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्, ‘जेसुकै भनौं हामी स्वतन्त्र भन्छौं, तर केही न केही रुपबाट हामी आफै पनि स्वयं जानीजानी परतन्त्र बन्ने न्यायाधीशहरुकै भूमिका हुन्छ, कतैबाट गाइडेड, यसको पालामा यो हुन नदिने, त्यसको पालामा त्यो हुन नदिने, नियुक्ति हुन नदिने के दिने…, मेरै पालामा मैले निकै हङ्गामा व्यहोर्नुपरेको थियो । ‘न्यायाधीशहरुमा प्रधानन्यायाधीशलाई सहयोग नगर्ने प्रवृति छ, स्वतन्त्र न्यायपालिका भनिए पनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृत्ति छ ।’

उनले न्यायाधीशहरुमा बिदा माग्ने र बाहिर गएर षड्यन्त्र गर्ने प्रवृति रहेको गम्भीर आरोप समेत लगाइन । उनले न्यायाधीश मियुक्ति प्रक्रिया नै गलत बहेको समेत बताइन । उनले भनिन्, ‘नियुक्तिको बेलामा भागवण्डा खोजेर यही मान्छे नियुक्ति हुनुपर्छ, मेरो ज्वाईं नै हुनुपर्छ, मेरो आफन्त नै हुनुपर्छ भन्न पनि भएन । न्यायाधीशहले पनि त्यो भन्न भएन र राजनीतिक दलले पनि भन्न मिल्दैन । तपाइको नियुक्तिमा १५÷२० जना मेरो मान्छे परेनन् भने त मेरो पार्टी नै फेल खान्छ त्यो त भन्‍न भएन ।’

विद्यमान यस्तो परिपाटीका कारण न्यायपालिका बर्बाद भएको यसको जिम्मेवार पनि भित्रैका न्यायाधीशहरु रहेको कार्कीको आरोप थियो ।