राजेन्द्र महतोको बचाउमा लागे सुर्य थापा - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

राजेन्द्र महतोको बचाउमा लागे सुर्य थापा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विवादित अभिव्यक्ति दिएका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बचाउ गरेका छन्। महतोको चौतर्फी विरोध भैरहेका बेला थापाले भने उनको बचाउ गर्दै सामाजिक संजालमा लेखेका छन् ।

आइतबार ट्वीट गर्दै सरकारका मन्त्रीको अभिव्यक्ति विवादास्पद नै हुने गरेको दाबी गर्दै अहिले ओली सरकारका मन्त्री महतोले पनि त्यस्तो अभिव्यक्ति दिनु कुनै अनौठो नभएको टिप्पणी गरेका छन् । त्यतिमात्र होइन थापाले राजेन्द्र महतोले साथ् नदिएका कारण विपक्षी गठबन्धनले उनको अभिव्यक्तिको विरोध गरेको समेत उनले बताएका छन् ।

जनता समाजवादी पार्टीका नेता महतोले शुक्रबार मन्त्री पदको शपथ खानासाथ बहुराष्ट्रिय राज्य स्थापनाको वकालत गरेका थिए। त्यो अभिव्यक्ति संविधानविपरीत देश विखण्डनकारी भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यस क्रममा एमालेकै माधव नेपाल समूह तथा विपक्षी दलहरूले विज्ञिप्ति नै जारी गरी घोर भर्त्सना गरेका थिए।

यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने प्रायः गठबन्धनका सरकारका मन्त्रीको अभिव्यक्ति विवादास्पद नै हुने गरेको दाबी गर्दै अहिले ओली सरकारका मन्त्री महतोले पनि त्यस्तो अभिव्यक्ति दिनु कुनै अनौठो नभएको टिप्पणी गरेका हुन्।

साथै उनले महतोको अभिव्यक्तिविरुद्ध विज्ञप्ति निकाल्नेहरूलाई ‘बुमेराङ’को संज्ञा दिएका छन्। थापाले महतोको समर्थन नपाउनेहरूले उनको विवादास्पद अभिव्यक्तिको विरोध गरेको टिप्पणी गरेका छन्।

‘प्रायः नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने, तर दुई दिनमै गल्ती सच्याए,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान सामाजिक सजालमार्फत भनेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यबाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ।’

चौतर्फी विरोधपछि मन्त्री महताले शनिबार मध्यराति विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्ति सच्याएका छन्।