माधव नेपाललाई व्यंग्य गर्दै सुर्य थापाले भने: मजाक नगर, दुनियाँ हास्दैछन्
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई देखेर दुनियाँ हाँसिरहेको बताएका छन्। नाममै मजाक गरेको भन्दै थापाले व्यंग्य गरेका छन्।
एकीकृत समाजवादी पार्टी नामलाई उनले ‘मजाक’ संज्ञा दिँदै फेसबुकमा स्टाटस लेखेका छन्। दुई दिनअघि नै आफूले एमाले (समाजवादी) नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको थापाको भनाइ छ।
‘उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन। जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो। नाममै मजाक त नगर्ने कि। दुनियाँ हास्दैछन्’, उनले भनेका छन्।
नेता नेपालले एमालेबाट विभाजित हुँदै निर्वाचन आयोगमा एमाले (समाजवादी) नाममा पार्टी दर्ता गराउन चाहेका थिए। तर, आयोगले उक्त नाम अस्वीकार गरिदिएको थियो। अहिले नेपाल नेतृत्वको पार्टीको नामाकरण नेकपा (एकीकृत समाजवादी) गरिएको छ।