सचिवालय बैठकमा सुर्य थापालाई पदबाट हटाउन माग - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सचिवालय बैठकमा सुर्य थापालाई पदबाट हटाउन माग



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टा बसेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

आजको बैठकमा पनि नेताहरूबीच चर्काचर्की भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मैले दुवै पद छाड्दिन, बहुमतको निर्णय पनि मान्दिन भनेपछि नेताहरूले र्याखर्याख्ती पारेका थिए ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीको सचिवालयको बिषयमा पनि गम्भीर आरोप लगाइएको थियो । पार्टी उपाध्यक्ष समेत रहेका वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन चेतावनी समेत दिएका थिए ।

गौतमले पार्टीको हित विपरित काम गरेको भन्दै थापालाई प्रेस सल्लाहकारबाट हटाउन आग्रह गरेका हुन । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्, अनी थाहा पाउनुहोला ।’

त्यस्तै पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनालले ओली पक्षले गोरखापत्र दैनिकको समेत दुरुपयोग गरिरहेको आरोप लगाएका थिए । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’