सहमतिपछि बालुवाटारमा खुशियाली: प्रधानमन्त्रीका सल्लाहकारले गरे देउवालाई ‘कुरीकुरी’
काठमाडौं- प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाकै लागि सहमति गर्न लागेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीका सल्लाहकारले त्यस्तै पुष्टि हुनेगरी सामाजिक संजाल रंगाएका छन् ।
नेकपा एमालेको एकताबारे सहमति गर्न कार्यदलले १० बुँदा प्रस्तुत गरेपछि बालुवाटारमा खुसियाली छाएको छ । नेता माधव नेपाल निकट नेताहरू त्यति खुसि नदेखिएपनि ओली समुहका नेताहरू भने खुशी भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको भन्दै खुशियाली मनाएका छन् ।
सूर्य थापाले नेकपा कार्यदलले प्रस्तुत गरेको १० बुँदे सहमति भएपछि यस्तो टिप्पणी गरेका हुन् । एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो भने सो सहमतिपछि बालुवाटारबाट यस्तो अभिव्यक्ति, आएको हो ।
थापाले सामाजिक सञ्जालमार्फत आइतबार मध्यराति लेखेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र’,उनले सर्वोच्चबाट फैसला हुनुअघि नै विवादास्पद टिप्पणी पनि गरेका छन् ।
एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि दावी गरेका छन् । उनले देउवा मच्चिएर थच्चिएको भन्दै कुरीकुरी शैलीमा भनेका छन्, ‘सर्वोच्चद्वारा न परमादेश । न पुनःस्थापना !’, उनले लेखेका छन्, ‘मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो !! जय नेपाल !’