सुर्य थापाले माधव नेपालको हस्ताक्षर देखेपछि... - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सुर्य थापाले माधव नेपालको हस्ताक्षर देखेपछि…



काठमाडौं- नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा माधव नेपालप्रति फायर भएका छन् । आइतबार एउटा विज्ञप्तिमा माधव नेपालको हस्ताक्षर देखेपछि उनी आक्रोशित बनेका हुन् ।

विपक्षी गठबन्धनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेकपा एमालेका नेता माधवकुमार नेपालले हस्ताक्षर गरेका थिए । उनले गरेको यो हस्ताक्षरप्रति सूर्य थापाले आपत्ति जनाएका छन्। उनले संयुक्त विज्ञप्ति पोस्ट गर्दै अनाधिकृत कार्य भनेका छन्। उनले उक्त विज्ञप्तिमा नेता नेपालको हस्ताक्षर अनाधिकृत रहेको दाबी गरेका छन्।

‘अनाधिकृत कार्य- विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

उक्त विज्ञप्तिमा नेकपा एमालेका वरिष्ठ नेता नेपाल लेखिएको छ। तर नेपाल एमालेको वरिष्ठ नेता नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको भनाइ छ। ‘नेकपा (एमाले) मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति!,’ उनले भनेका छन्।

केहि समयअगाडि बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाललाई पार्टीबाट निस्कासन गरेको थियो। देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालसहित उनी पक्षका सांसदले हस्ताक्षर गरेका थिए।

आज देउवा निवासमा विपक्षी गठबन्धनको छलफलपछि उनीहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारका असंवैधानिक कामको विरोध गर्ने उल्लेख गरेका थिए।