सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि…
काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चारजना पूर्वप्रधानन्यायाधीशले गति छाडेको बताएका छन् । थापाले अदालतमा विचाराधिन मुद्दाको विषयमा विज्ञप्ति निकालेर उनीहरूले गति छाडेको आरोप लगाएका छन् ।
संसद विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो बताएका हुन् ।
सामाजिक संजालमा लेख्दै थापाले स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको दाबी गर्दै यस्तो बताएका हुन् ।
थापाले फेसबुकमा लेखेका छन् ‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला।’
उनले रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उल्लेख गरेका छन् ।
यो कामले अराजकता र भिडतन्त्रको पैरवीलाई प्रोत्साहन गर्ने उनको तर्क छ । यस्तो अभ्यास कतै नभएकोसमेत उनले दाबी गरेका छन् ।
‘सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमो पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ?’, थापाले थप लेखेका छन् ‘संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेको यस्तो सायद कहींकतै देखिन्छ कि ?’
सँगै थापाले चारजना पूर्वप्रधानन्यायाधीशको वक्तव्यलाई असंवैधानिक भनेका छन् । उनले संविधानको भाग ११ न्यायपालिका सम्बन्धी व्यवस्थाको बर्खिलापमा यो वक्तव्य आएको उल्लेख गरेका छन् । यसले भिडको चाहना अनुसार फैसला गर्न प्रेरित गरेको प्रष्ट हुने उनको भनाइ छ ।
‘चार पूर्वप्रधानन्यायाधीशको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ’, थापाले अगाडि लेखेका छन्, ‘यसले अदालतलाई प्रभावित गर्ने र भिंडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।’