‘सूर्य’ चिह्नमा कुरो मिल्यो तर एकता अन्योलमै - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

‘सूर्य’ चिह्नमा कुरो मिल्यो तर एकता अन्योलमै



काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ। पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले बताएका छन्।

एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए। हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन्।

महासचिव पोखरेलले भने, ‘हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो। अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्को संयोजन समितिको बैठकले निर्णय गर्नेछ।’

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिए।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो।

यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा उक्त मिति पर सर्र्ने आशंका देखिएका बेला आजको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।