सुरू भयो संसद विघटनविरुद्धको मुद्दाको सुनुवाई - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सुरू भयो संसद विघटनविरुद्धको मुद्दाको सुनुवाई



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाई सुरू भएको छ । संसद विघटनविरुद्ध परेका ३० वटा रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ ।

सबैभन्दा पहिला १४६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित दायर गरेकाे रिटमा सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतका अनुसार आज देउवाको रिटमा मात्रै सुनुवाइ हुनेछ। गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमाले संसदीय दल र जनता समाजवादी पार्टीको संसदीय दलले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र शितल निवासमा बुझाएका थिए।

१४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको लगायत विषयमा सर्वोच्चमा ३० रिट परेका थिए। सर्वोच्चले ती सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ।

तीमध्ये सबैभन्दा पहिला देउवाको रिटमा सुनुवाइ हुने र त्यसपछि मात्रै अन्य २९ रिटमाथि सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।