सुर्खेतको विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुर्खेतको विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला



सुर्खेत – दुई दिदीबहिनीसहित विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला परेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाका–५ आली स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत बालिकाहरु रुपन्देहीको बुटवल बसपार्कमा आइतबार बिहान भेटिएका हुन् ।

सिम्ता ९ खानिखोलाका १४ वर्षीया निशा सिंह ठकुरी, १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री ११ गतेदेखि हराएका थिए । स्कुल गएका छोरीहरु बेलुकी घर नआएपछि आफन्तले प्रहरी चौकी आलीमा खोजी गरिदिन पुस १२ गते निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय छिञ्चुले तीन दिनपछि आइतबार बिहान साढे ९ बजे उनीहरुलाई फेला पारेको हो ।

इलाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक निरज चौलागाईका अनुसार बालिकाहरु हराएको निवेदन आएपछि प्राथमिकताका साथ खोजी गरिएको थियो । ‘अनुसन्धानका क्रममा उनीहरु तीनै जना बुटवल जाने भनेर नेपालगञ्ज गाडी चढेको पाइयो’ उनले भने,‘कोहलपुर बसपार्कमा झरेका उनीहरु पूर्व जाने गाडीमा चढेको व्यापारीहरुबाट पत्ता लाग्यो । त्यसपछि बुटवल जाने भनेर हिँडेको अनुमानमा बसपार्कमा खोजी गर्दा भेटिएका छन् ।’
बालिकाहरु किन, कसरी बुटवल पुगे भन्नेबारेमा अनुसन्धान गर्न बाँकी रहेको उनले जानकारी दिए । उनीहरु हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा छन् ।

रुपन्देही प्रहरीका अनुसार आजै बालिकाहरुलाई नेपालगञ्ज ल्याउन लागिएको छ । नेपालगञ्जबाट सुर्खेतप्रहरीले बालिकाहरुलाई ल्याउने प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।