पार्टी फुटाउन उक्साउने सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई उपदेश - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

पार्टी फुटाउन उक्साउने सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई उपदेश



काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा पार्टी छाडेर जान नहुने बताएका छन् । उनले सहमति भैसक्दा पनि माधव नेपालले एमाले छाडेर हिँडेको दाबी गरे ।

ओलीसँग अन्तरसंघर्ष चलिरहेका बेला विद्यार्थी नेतालाई लगाएर आफै छुट्टै पार्टी खोलेका पाण्डेले नेता नेपाललाई भने अलग पार्टी खोल्न नहुने अर्ति दिए । उनले एमालेको विवाद उत्कर्षमा पुगेका बेला नै नयाँ पार्टी दर्ता गरेको केहिदिन अगाडी खुलासा भएको थियो । तर उनै नेता पाण्डेले गृहजिल्ला चितवन पुगेर माधव नेपाललाई अनेक अर्ति उपदेश दिएका थिए ।

चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको कुरा गर्दै उनले मूल विषयमा सहमति भइसक्दा पनि छुट्टै पार्टी खोलेको भन्दै माधव नेपालप्रति असन्तुष्टि ब्यक्त गरे । पाण्डे तिनै नेता हुन् ओलीसँग पार्टीमा विमति भएकै बेला देशभर समानान्तर कमिटि गठन गरेर अलग पार्टीको अभ्यास गरेका थिए ।

उनले नेता नेपाललाई ओलीसंग सँगै बस्न नसकिने भन्दै पार्टी विभाजन गर्न पटकपटक उक्साएका थिए । तर ओलीसंग मिलेपछि गृहजिल्ला पुगेका पाण्डेले एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण गरेर नेता नेपालले गल्ती गरेको आरोप लगाए ।

उनले पत्रकारसंग भनेका थिए, ‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न।’

नेता पाण्डेले भनेक छन्, ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो, एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’