सुरेन्द्र पाण्डे भन्छन: सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

सुरेन्द्र पाण्डे भन्छन: सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्र देखिएको अन्तविरोध हल हुने अवस्थामा पुगेको बताएका छन्।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दे नेता पाण्डेले गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय पनि कार्यान्वयन हुने र प्रधानमन्त्रीको चासो पनि सम्बोधन गर्नेगरी विवाद हल गर्न लागिएको बताए।

‘पार्टीमा देखिएको विवादको समाधानको दिशामा गइसक्यो। शीर्ष नेताहरु लगभग सहमतिमा पुगिसक्नुभएको छ’, नेता पाण्डेले भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय पनि कार्यान्वयन हुन्छ, प्रधानमन्त्रीका चासोहरु पनि सम्बोधन हुन्छन्।’

उनले कम्युनिस्ट पार्टीमा विवाद, बहस र छलफल भइरहने भन्दै त्यसलाई अतिरञ्जित तरिकाले प्रसार गरिएकाले कार्यकर्तामा भ्रम सिर्जना भएको बताए। ‘पार्टीभित्र बहस र छलफल त भइनै रहन्छ’, उनले भने, ‘बाहिर हल्ला आएजस्तो फुटको दिशामा नै पुग्यो भन्ने कुरा गलत हो।’

उनले उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा गए पनि मन्त्री भने हुन नसक्ने बताए। उनले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति सोही अवधिमा मन्त्री हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए।

‘प्रतिनिधिसभामा पराजित भएको मन्छेलाई संविधानले नै मन्त्री बन्न दिँदैन’, उनले भने, ‘ पराजित व्यक्तिले मन्त्री बन्न पनि खोज्नु हुँदैन, यसले लोकतन्त्र कमजोर हुन्छ।’