सुरेन्द्र पाण्डे लगायतका नेताहरूले नयाँ दल खोलेको खुलासा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ् छाडेर ओली पक्षमा लागेका मध्यमार्गी नेताहरूले पहिले नै पार्टी दर्ता गरिसकेको खुलासा भएको छ । नेता माधव कुमार नेपालले यस्तो खुलासा गरेका हुन् ।
उनले पहिले नै पार्टी खोल्ने र अर्को पार्टी खोल्न उक्साउनेहरूले नै आफ्नो साथ छाडेर दक्षिणपन्थीलाई साथ् दिएको बताए । नेता नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।
उनले सुरेन्द्र पाण्डे, भीम रावल लगायतका मध्यमार्गी भनिएका नेताहरूले पार्टी पहिले नै खोलिसकेको, आफूलाई पार्टी फुटाउन उक्साएको र बिचैमा छोडेको आरोप लगाए ।
विद्यार्थी नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत नामको दल दर्ता गरेका थिए । उक्त दल दर्ताका लागि नेता सुरेन्द्र पाण्डेले जीवन राईलाई बारम्बार ताकेता गरेका थिए । एक नेताका अनुसार नेता पाण्डेले राईलाई ‘त्यति जाबो पार्टी खोल्न पनि म नै धाउनु पर्ने हो र ?’ भन्दै दवाव दिएका थिए ।
यसैलाई संकेत गर्दै पत्रकार सम्मेलनमा नेता नेपालले साथ् छाडेका नेताहरूले पानीले नै दल दर्ता गरिसकेको बताएका थिए ।
उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।
“हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए,” उनको भनाइ थियो,“ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प भएन । इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नुपर्थ्यो ।”